Tue. May 7th, 2024

टुकुचा खोला खोज्न उत्खनन   

काठमाण्डौं, २०७९ भदौं ३१ गते शुक्रबार । टुकुचा खोला खोज्ने क्रममा काठमाण्डौं महानगरपालिकाले बिहीबार जय नेपाल हलको कम्पाउण्डभित्र उत्खनन गरेको छ ।

करिब एक महिनादेखि अवैध संरचना भत्काउन लागेको कामपाको ध्यान बिहीबार टुकुचा खोज्न गएको हो । खोलामाथि संरचना निर्माण भएको सूचना प्राप्त भएको आधारमा बिहीबार कामपाले उत्खनन कार्य गरेको हो । कामपाले नक्साअनुसार मार्किङका आधारमा डोजर चलाउँदा खोला भेटिएको कामपा प्रमुख बालेन्द्र साहको सचिवालय सदस्य सुनिल लम्सालले जानकारी दिनुभयो ।

नारायणहिटी दरबार क्षेत्रबाट करिब १२ मिटर चौडाइमा बगेको उक्त खोला सो क्षेत्रमा आइपुग्दा गायब भएको हुनाले उत्खनन गर्नुपरेको सदस्य लम्सालले बताउनुभयो । विगत लामो समयदेखि नै नागरिकले खोला अतिक्रमण गरेर संरचना निर्माण भएको हुनाले जुनसुकै समयमा समस्या आउनसक्ने भन्दै कामपासँग उत्खननको माग गर्दै आइरहेका छन् । रासस

Facebook Comments