Sat. May 18th, 2024

रोजगारी कटौती गर्दै जर्मन कार उद्योग

बर्लिन, २०७९ भदौं ३१ गते शुक्रबार । जर्मनीको अटोमोटिभ उद्योगले रोजगारी कटौती गर्ने कार्य जारी राखेको छ । संघीय तथ्याङ्क कार्यालय (डेस्टाटिस) ले अटोमोटिभ उद्योगले अघिल्लो वर्षको तुलनामा यस वर्ष १.६ प्रतिशतले रोजगारी कटौती गरेको जानकारी दिएको छ ।

सन् २०१९ यता जर्मनीको कार उद्योगले आफ्ना कर्मचारी घटाउँदै गएको छ । सन् २०१९ यता विद्युतीय सवारीसाधनहरूको सङ्ख्या बढिरहेको छ भने मानिसहरूले इन्धनको प्रयोग घटाइरहेका छन् । त्यसैले कार उद्योगहरू पनि विद्युतीय साधनको उत्पादन गर्न उत्साहित भएका छन् ।

अडिटिङ र कन्सल्टिङ सेवा कम्पनी  जर्मनी (पीडब्लुसी) का अनुसार सन् २०३० सम्ममा विश्वभर बिक्री हुने लगभग हरेक दुईवटा कारमध्ये एउटा कार इलेक्ट्रिक ब्याट्रीबाट गुड्ने कार हुने अनुमान गरिएको छ । जर्मनीले इन्धनबाट गुड्ने गाडीलाई विद्युतीयमा रूपान्तरण पूरै जोशका साथ गर्दै आएको छ ।

इन्धनको आपूर्ति घटाएर विद्युतीय उपकरण बढाउनु भनेको आर्थिक र सामाजिक विकासका लागि चुनौती पनि हो । यसमा कोभीड-१९ महामारीका कारण निरन्तर आपूर्तिमा अवरोधका कारण उत्पादक मूल्य बढेपछि  जर्मनीका कार उद्योगहरूले यस्तो  कदम चालेका हुन् ।

यस वर्षको जुलाई महिनामा युरोपको सबैभन्दा ठूला उत्पादकहरूले वर्षमा ३७.२ प्रतिशतले मूल्य बढाएका छन् ।   डेस्टाटिसका अनुसार यो अहिलेसम्मकै सबैभन्दा बलियो वृद्धि हो । सन् २०१९ यता ऊर्जाको मूल्य दोब्बरभन्दा बढीले बढ्यो, जसले गर्दा हरेक चीजबिजको मूल्य बढ्यो ।

नतिजाको रूपमा, जर्मन अटोमोटिभ आपूर्तिकर्ताहरूले पहिले नै उत्पादनलाई अन्य देशहरूमा स्थानान्तरण गर्ने विचार गरिरहेका छन् ।  हालैको उद्योग सर्वेक्षण अनुसार केवल ३ प्रतिशत आपूर्तिकर्ताहरूले मात्र भविष्यमा जर्मनीमा लगानी बढाउने योजना बनाएका छन् । जर्मन कार इन्टेरियर निर्माता डा. स्नाइडरले गत हप्ता विस्फोटक मूल्यका कारण कतिपय कम्पनीहरूलाई व्यापार-व्यवसाय धान्न गर्‍हो भएको बताउनु भएको छ । एजेन्सी

Facebook Comments