Mon. Dec 23rd, 2024

निर्वाचनलाई मध्यनजर गर्दै एमालेले सुझाव माग्यो

काठमाण्डौं, २०७९ भदौं १९ गते आईतबार । आगामी निर्वाचनलाई मध्यनजर गर्दै नेकपा एमालेले पार्टी कमिटी बाहिर रहेका व्यक्तिहरू र आम जनसाधारणहरूसँग सुझाव माग गरेको छ ।

एमालेप्रति सद्भाव राख्ने जोकोहीले पनि एमालेले आगामी निर्वाचनमा विजयी भएपछि गर्नुपर्ने कामको सुझाव दिन चाहेमा २५ भदौभित्र पार्टी केन्द्रीय कार्यालयमा उपलब्ध गराइदिन आह्वान गरिएको छ ।

सुझावका लागि पार्टीको केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीलाई सम्पर्क व्यक्ति तोकिएको छ भने इमेलमार्फत सुझाव पठाउन चाहनेहरूले  partyhq@cpnuml.org  मा आफ्ना सुझाव पठाउन सक्नेछन् ।

एमालेका अध्यक्ष केपी ओलीको नेतृत्वमा घोषणापत्र मस्यौदा कमिटीको गठन भएको थियो । उक्त कमिटीले आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन घोषणापत्रमा समावेश गर्ने विषयवस्तुलाई लिएर पार्टीका सुझावको आह्वान गरेको थियो । उक्त कमिटीले भदौ १५ सम्म पार्टी पङ्तीलाई सुझाव दिन आह्वान गरेको थियो ।

पार्टीका सबै निकाय तथा कमिटीहरू, विभागहरू, पार्टीसम्बद्ध जनसंगठन र पार्टीका नेताकार्यकर्तालाई दिइएको समय सकिएको छ । अधिकांश विभाग र जनसंगठनहरूले सुझावसमेत दिइसकेका छन् ।

Facebook Comments