Thu. May 16th, 2024

राष्ट्रपति भण्डारीद्वारा सैन्य सारथी तुलाराम पाँडेलाई श्रद्धाञ्जली

भिओके समाचार/काठमाण्डौं, २०७९ भदौं १८ गते शनिबार । राष्ट्रपति विद्यादेवी भण्डारीले सैन्य सारथी तुलाराम पाँडेलाई श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

काजी कालु पाँडे, काजी तुलाराम पाँडे स्मृति प्रतिष्ठानद्वारा काजी तुलाराम पाँडेको स्मृतिमा आज काठमाण्डौंमा आयोजित स्मृतिसभामा उपस्थित भई राष्ट्रपति भण्डारीले पाँडेलाई श्रद्धाञ्जली अर्पण गर्नुभएको हो ।

काठमाण्डौंको वसन्तपुरमा आयोजना गरिएको काजी तुलाराम पाँडेको २५४औँ स्मृतिसभामा राष्ट्रपति भण्डारीले पाँडेको तस्वीरमा माल्यार्पण गरी श्रद्धाञ्जलि अर्पण गर्नुभयो ।

काजी तुलाराम पाँडे नेपाल एकीकरणको अभियान सुरु गरेका शाहवंशीय राजा पृथ्वीनारायण शाहका सैन्य सारथी हुनुहुन्थ्यो । तुलाराम पाँडे पृथ्वीनारायण शाहका सेनापति काजी कालु पाँडेका भाइ हुनुुहुन्थ्यो ।

नेपाल एकीकरणको अभियानअन्तर्गत वि.सं. १८२५ असोज १४ गते (भाद्र चतुर्दशी इन्द्रजात्राका दिन) कान्तिपुर हमलाका क्रममा तुलाराम पाँडेको काठमाण्डौंको वसन्तपुरस्थित तुलजा भवानी मन्दिर परिसरमा निधन भएको हो ।

सो समारोहमा इतिहासकार प्राध्यापक दिनेशराज पन्तले नेपाल एकीकरणका अभियन्ता तत्कालीन राजा पृथ्वीनारायण शाहको सैनिक सारथिका रुपमा रहेर काजी तुलाराम पाँडेले नेपालको एकीकरणमा ठूलो योगदान पुर्याउनु भएको स्मरण गर्नुभयो ।

पाँडेको बारेमा अनुसन्धान गर्नुभएका डा. कृष्णकुमार पाँडेले पृथ्वीनारायण शाहले एकीकरणका क्रममा आक्रमणको योजना बनाउनुभएका रणनीतिकरुपले महत्वपूर्ण विभिन्न स्थानमा साथ दिएर काजी तुलाराम पाँडेले नेपाललाई एक ढिक्का बनाउने काममा ठूलो सहयोग पुर्याउनुभएको बताउनुभयो ।

सो प्रतिष्ठानका अध्यक्ष पवनबहादुर पाँडेले देशका लागि युद्ध गर्दागर्दै वीरगति प्राप्त गर्नुहुने काजी कालु पाँडे र काजी तुलाराम पाँडे नेपालका वीर योद्धा हुनुहुन्थ्यो भन्नुभयो । नेपाल टेलिभिजन

Facebook Comments