Tue. Apr 30th, 2024

सुदूरपश्चिम प्रदेशमा आज गौरा पर्व आज भव्य रुपमा मनाइँदै

भिओके समाचार/काठमाण्डौं, २०७९ भदौं १८ गते शनिबार । सुदूरपश्चिम प्रदेशको मौलिक पहिचान बोकेको गौरा पर्व आज भव्य रुपमा मनाईँदैछ । सो प्रदेशका प्राय सबै जिल्ला र शहर अनि गाउँहरुमा यत्तिवेला गौरा पर्वको रमाईलो छाएको छ । विशेष गरी कैलाली र कञ्चनपुर जिल्लामा गौराको रमझम ह्वात्तै बढेको छ ।

ऐतिहासिक तथा धार्मिक दस्तावेजहरुका अनुसार प्राचीनकालदेखि नै पर्वतराज हिमालय र मेनकाकी पुत्रीका रुपमा भगवान शिवकी अर्धाङ्गिीनी शक्तिस्वरुपा पार्वती (गौरी)लाई गौरा देवीको रुपमा पूजा अर्चना गर्ने प्रचलन चलिआएको छ । शिवगौरीको स्थानीय लोकरीतिअनुसार पूजाअर्चना गरिने पर्व नै गौरा हो । भाद्र शुक्ल पक्ष पञ्चमीदेखी सुरु हुने गौरा पर्व परम्परागत रिती अनुसार मनाइने गरेको छ ।

गौराको पूजा अर्चनाले विशेष गरी श्रीमान् र घरपरिवारका सदस्यहरु निरोगी, दीर्घायु हुने, परिवारमा सुख समृद्धि हुने जनविश्वास रहेको छ । यस पर्वमा देउडा खेलेर रमाइलो पनि गरिन्छ ।

यस चाडमा महिलाहरुले घर नजिकैको खेतमा गएर तयार पारिएको गौराको प्रतिमालाई माङ्गल गीत र फाग गाउँदै गौरा घरसम्म भित्रियाउने गर्दछन् । भाद्र पञ्चमीतिथिका दिन घरघरमा तामा वा पित्तलको सफा भाँडोमा पाँच थरीका गेँडागुडीअर्थात् ‘बिरुडा’ भिजाएर राखिएपछि यो पर्वको औपचारिकरुपमा सुरु भएको मानिन्छ ।

‘बिरुडा’ भिजाएर राखिने भाद्र पञ्चमीको दिनलाई ‘बिरुडा पञ्चमी’ भनिन्छ । सप्तमी र अष्ठमीका दिन गौरी र महेश्वरको महिलाद्वारा सामूहिक रुपमा पूजा गरिन्छ । पूजा गर्नुअघि घरमा भिजाएर राखिएको बिरुडालाई सामूहिकरुपमा पँधेरो वा जलाशयमा लगेर धार्मिक अनुष्ठानका साथ पखालिन्छ । यसलाई ‘नोलाइ’ गौरा भनिन्छ । पूजा गर्दा अक्षताका रुपमा प्रयोग हुने ‘बिरुडा’(पाँच थरीका गेँडागुडी) को विशेष महत्व हुन्छ । ‘बिरुडा’लाई गौरा र महेश्वरको प्रसादका रुपमा ग्रहण गर्ने परम्परा छ ।

पूजाको काम सकिएपछि छरछिमेकमा प्रसादका रुपमा बाँडिने बिरुडालाई पकाएर खाने चलन रहेको र यसले पेटसम्बन्धी रोग निको हुने जनविश्वास छ ।

Facebook Comments