Fri. Apr 26th, 2024

कक्षा १२ को परीक्षाफल प्रकाशित, ग्रेड वृद्धिको परीक्षा असोज ३० र ३१ गते हुने

भिओके समाचार/काठमाण्डौं, २०७९ भदौं १७ गते शुक्रबार । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ । आज बसेको बैठकले बोर्डको नतिजा सार्वजनिक गरेको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिनुभयो ।

राष्ट्रिय परीक्षा बोर्डले गत जेठ १६ गते देखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षाको नतिजा सार्वजनिक गरेको हो । राष्ट्रिय परीक्षा बोर्डले नयाँ ग्रेडिङ पद्धतिअनुसार नतिजा प्रकाशन गरेको जनाएको छ । ग्रेडिङ पद्धति २०७८ अनुसार नतिजा प्रकाशित भएको परीक्षाको प्रत्येक विषयमा सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अङ्क नल्याए ग्रेड सिटमा एनजी अर्थात् (नन ग्रेडिङ) उल्लेख हुने बोर्डका प्रमुख शर्माले जानकारी दिनुभयो ।

शर्माका अनुसार नियमिततर्फ तीन लाख ६३ हजार आठ, ग्रेड वृद्धितर्फ ३० हजार ४५ र आंशिकतर्फ तीन हजार १३२ गरी कूल तीन लाख ९६ हजार १८५ विद्यार्थीले परीक्षामा सहभागिता जनाएका थिए ।

तीमध्ये नतिजामा चार हजार १७९ जनाले तीन दशमलव ६१ देखि चार जिपिए, ३० हजार १०७ जनाले तीन दशमलव २१ देखि तीन दशमलव ६० जिपिए, ६५ हजार २८४ जनाले दुई दशमलव ८१ देखि तीन दशमलव २० जिपिए, ६४ हजार ९३ जनाले दुई दशमलव ४१ देखि दुई दशमलव ८० जिपिए, १० हजार ९०० जनाले दुई दशमलव ०१ देखि दुई दशमलव ४० जिपिए र ३५ जनाले एक दशमलव ६१ देखि दुई जिपिए ल्याएका छन् ।

बोर्डका उपाध्यक्ष डा शर्माले भन्नुभयो, “यस वर्ष एक लाख ८८ हजार विद्यार्थी नन ग्रेडिङमा परेका छन् । त्यसमध्येमा एक लाख ३० हजार ८७८ जनाले मात्रै ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउँछन् ।” दुई विषयमा निर्धारित प्रतिशतभन्दा कम ल्याउने विद्यार्थीले पुनःग्रेड वृद्धि परीक्षा सहभागि हुन पाउँछन् । बोर्डले देशभरका एक हजार २९२ परीक्षा केन्द्रमा परीक्षा केन्द्रमा गत जेठ १६ देखि २५ गतेसम्म परीक्षा सञ्चालन गरेको थियो ।

बोर्डले यस वर्षको नतिजामा ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने एक लाख ३० हजार ८७८ परीक्षार्थीका लागि आउँदो असोज ३० र ३१ गते परीक्षा सञ्चालन गर्ने गरी आजै परीक्षा तालिकासमेत सार्वजनिक गरेको अध्यक्ष डा. शर्माले जानकारी दिनुभयो ।

बोर्डका अनुसार नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट www.neb.gov.np, नेपाल टेलिकमको वेबसाइट www.neb.ntc.net.np मा गएर हेर्न सकिन्छ । त्यसैगरी एसएमएसबाट पनि नतिजा हेर्न सकिने छ । त्यसका लागि neb लेखेर एक स्पेस दिई आफ्नो सिम्बोल नम्बर टाइप गरी १६०० नम्बरमा र नेपाल टेलिकमको १६०१ मा एसएमएस पठाएर पनि हेर्न सकिने छ । नेपाल टेलिभिजन

Facebook Comments