Fri. May 17th, 2024

नागरिकता विधेयक सम्बन्धी प्रतिवेदन राष्ट्रिय सभामा पेश

भिओके समाचार/काठमाण्डौं, २०७९ भदौं १६ गते बिहीबार । विधायन व्यवस्थापन समितिले नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९ सम्बन्धी प्रतिवेदन राष्ट्रियसभामा पेश गरेको छ ।

बिहीबार बसेको राष्ट्रियसभा बैठकमा समितिका जेष्ठ सदस्य नारायण दत्त मिश्रले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भई प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त नागरिकता बिधेयक सम्बन्धी प्रतिवेदन पेश गर्नुभएको हो । समितिमा उक्त बिधेयकमाथि दुई दिन छलफल भई हुबहु पारित भएको थियो । बिधेयकका सम्बन्धमा भएको छलफलका क्रममा गृहमन्त्री, कानून मन्त्रालय लगायत सवै सरोकारवालाहरुसंग छलफल गरेको मिश्रले जानकारी दिनुभयो ।

बैठकमा प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त कारागार विधेयक, २०७६ सम्बन्धी प्रतिवेदन पेश गरिएको थियो भने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिका सदस्य देवेन्द्र दाहालले समितिको वार्षिक प्रतिवेदन, २०७६ र एकीकृत प्रतिवेदन, २०७९ पेश गर्नुभएको थियो ।

Facebook Comments