Mon. Apr 29th, 2024

दमकल सेवालाई विस्तार गर्दै काठमाण्डौं महानगरपालिका

भिओके समाचार/काठमाण्डौं, २०७९ भदौं १६ गते बिहीबार । काठमाण्डौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आगलागीजन्य विपद्लाई तत्काल सम्बोधन गर्न दमकल सेवालाई विस्तार गरिने बताउनुभएको छ ।

बिहीवार राष्ट्रिय सभागृहमा विपद् व्यवस्थापन विभागलाई नयाँ दमकलको साँचो हस्तान्तरण गर्दै प्रमुख शाहले यस्तो बताउनुभएको हो ।

महानगरका पूर्वप्रमुख विद्यासुन्दर शाक्यप्रति आभार व्यक्त गर्दै उहाँले नयाँ दमकल थपिएपछि आगलागीबाट भौतिक तथा मानवीय क्षति कम गराउन मद्दत पुग्ने बताउनुभयो ।

त्यस अवसरमा उपप्रमुख सुनिता डंगोलले दमकलको प्रभावकारी सञ्चालनबाट छिमेकी पालिकामा समेत लाभ पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

दमकल खरिदका लागि २०७७ फागुन महिनामा बोलपत्र आव्हान गरिएको थियो । त्यसमा इन्डोनेसियामा काम गरिरहेको जर्मन कम्पनी जिग्लर इन्डोनेसिया छनौट भएको थियो । कम्पनीले करबाहेक ७ करोड २१ लाख रुपैयाँमा इन्डोनेसियाबाटै सामान पठाएको हो ।

नयाँ दमकलको इञ्जिन क्षमता २७० एचपी हो । दमकलमा प्रतिमिनेट ३ हजार लिटर पानी तान्न र फाल्न सक्ने क्षमता छ । यस्तै ६० मिटर टाढासम्म पानीको फोहोरा हान्न सक्छ । एकैपटक ४ वटा डिस्चार्ज लाइनबाट प्रेसरका साथ पानी फाल्न र २ वटा सक्सन लाइनबाट पानी तान्न सक्छ।

३ हजार लिटर पानी र ५ सय लिटर फोमको ट्याङ्क रहेको दमकलले पानीमा फोम आफैँ मिसाउन सक्छ । पानी फाल्ने मोनिटर ३६० डिग्रीमा वरिपरि घुमेर र ८० डिग्री सिधा माथि पानी फाल्न सक्छ । ८ हजार किलोग्रामभन्दा धेरै तौल भएका यी दमकलहरु एन्टिलक व्रेक सिस्टक (एबीयस) हुन् । ३ वर्ष वारेन्टी भएका दमकलहरूमा एबिसी टाइपका फायर इस्टीङग्वीसर, ४ वटा व्रिदिङ् एपारटर्स, ५ मिटर लामा २ वटा अल्मुनियमका भर्‍याङ, २ हजार वाट क्षमताको एउटा जेनेरेटर, २ वटा स्पट लाइट, नाइलनको डोरी, पाइप तथा नोजल लगायत सामग्री तथा उपकरण छन् ।

८ मिटर लम्बाई र २.५ मिटर चौडाई भएका दमकलले घरमा लागेको, पेट्रोलियम पदार्थमा लागेको र ग्यासमा लागेको आगो निभाउन सक्छन् ।

घना वस्ती भएकाले काठमाडौं आगलागी जस्ता विपद्का कोणबाट जोखिममा छ । आगलागीका समयमा क्षति कम गराउन काम गर्नुपर्ने पक्षसँगै अग्नि दुर्घटना हुनै नदिनु सबैभन्दा उत्तम विकल्प हो । विपद् व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठले भन्नुभयो, ‘विभागले सचेतनाका कार्यक्रम मार्फत घटना हुनै नदिनेतर्फ ध्यान दिएको छ ।’

नयाँबाहेक महानगरसँग अहिले पूर्ण क्षमतामा काम गर्नसक्ने २ वटा र सहयोगका लागि प्रयोगमा ल्याउन सकिने ३ वटा गरी ५ वटा दमकल सञ्चालनमा छन् । जुद्ध बारुण यन्त्र कार्यालय काठमाडौंका प्रमुख चन्दन श्रेष्ठका अनुसार नयाँ सडक बारुण यन्त्र कार्यालयमा एउटा पूर्ण क्षमताको र २ वटा सहयोगका लागि प्रयोग गर्न सकिने दमकल छन् । त्यस्तै रामहिटीमा एउटा पूर्ण क्षमताको र एउटा सहयोगका लागि प्रयोग गर्न सकिने दमकल छन् ।

त्यस्तै ३० मिटरको लामो एउटा र २५ मिटर लामो एउटा गरी २ वटा ल्याडर छन् । रेस्क्युका लागि एउटा ट्रक र एउटा जीप छन् । जनशक्ति ओसारपसार गर्न एउटा भ्यान र एउटा जीप छन् । यसैगरी ५ वटा फायर मोटरसाइकल सञ्चालनमा छन् । दकमलमा पानी थप्न एउटा पानी ट्याङकर छ । यस्तै पानी तानेर फाल्नका लागि ५ वटा पम्प छन् ।

Facebook Comments