Mon. Apr 29th, 2024

दशैं नजिकिदै गर्दा फर्निचर र फर्निसिङ एक्स्पो

भिओके समाचार/काठमाण्डौं, २०७९ भदौं १६ गते बिहीबार । नेपालीहरुको महान चाड दशैं नजिकिदै गर्दा नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजनामा भदौ २३ गतेदेखि २७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा फर्निचर तथा फर्निसिङ सामग्रीको बृहत् प्रर्दशनी हुने भएको छ ।

बिहीवार संघले पत्रकार सम्मेलन गर्दै भदौ २३ गतेदेखि २७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा फर्निचर तथा फर्निसिङ एक्स्पो सञ्चालन गर्ने जानकारी दिएको हो । संघले आयात प्रतिस्थापन र नेपाली उत्पादनको प्रवर्द्धनमा टेवा पुर्‍याउने फर्निचर एक्स्पोको उद्देश्य रहेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाल फर्निचर तथा फर्निसिङ संघका अध्यक्ष शुभेन्द्र जोशीले आयातित फर्निचरजन्य उत्पादनलाई प्रतिस्थापन गर्ने लक्ष्यका साथ फर्निचर एक्स्पो आयोजना गर्न लागिएको बताउनु भयो । उहाँले फर्निचरजन्य सामग्री बनाउनका लागि आवश्यक पर्ने काठ नेपालमा नै पाइने बताउनु भयो । उहाँले नेपालमा नै धेरै काठ उपलब्ध भए पनि विदेशबाट काठ आयात गरेर फर्निचर बनाउनुपर्ने बाध्यता रहेको जानकारी दिनुभयो ।

अध्यक्ष जोशी नेपालको काठ किन्न र विदेशबाट आयात गर्न उस्तै मूल्य पर्ने बताउनु भयो । उहाँले नेपालमा मलेसिया, क्यानडा, अस्ट्रेलिया र भारतबाट काठ आउने गरेको बताउनु भयो । उहाँले अहिले नेपालमा उत्पादन हुने काठ प्रयोग गर्न टेण्डरमा भाग लिन पाउनु पर्ने माग सरकारसँग रहेको बताउनु भयो ।

फर्निचर एक्स्पोको सम्पूर्ण तयारी पूरा भएको संघले जनाएको छ । एक्स्पोमा भान्छा, सुत्ने कोठा, बाथरूमका साथै आउटडोर फर्निचर, इण्टेरियर डिजाइनर, कार्पेट, मार्बललगायत सामग्री एक्स्पोको मुख्य आकर्षणका रुपमा रहने छन् । एक्स्पोमा भारत, बंगलादेश लगायतका छिमेकी मुलुकका सामग्री पनि एक्स्पोमा समावेश गरिने छन् ।

जेन्सा कार्पेट, हलेसी डेकोर र भिवोन चेयर र युनाइटेड फर्म एण्ड म्योट्रेसले एक्स्पोलाई प्रायोजन गरेका छन् भने डिजी पे डिजिटल पार्टनर रहेको छ । एक्स्पो अवलोकनका लागि प्रवेश निःशुल्क रहेको छ । एक्स्पोमा स्वदेशी तथा विदेशी गरी १०० भन्दा बढी फर्निचर र फर्निसिङ सामग्रीका स्टलहरु रहने छन् ।

आयोजकले एक्स्पोमा एक लाख अवलोकनकर्ता आउने अपेक्षा गरेको छ । एक्स्पोलाई नेपाल चेम्बर अफ कमर्स तथा नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघले प्रवर्द्धन गरेका छन् भने नेपाल हस्तकला महासंघ, आइडिया नेपाल र स्पेस म्यागेजिनको सहयोग रहेको छ ।

Facebook Comments