Mon. Apr 29th, 2024

आज हरितालिका तीज, हिन्दू नारीहरु महादेवको पूजाआजा गर्दै

फोटो-सामाजिक सञ्जाल

भिओके समाचार/काठमाण्डौं, २०७९ भदौं १४ गते मंगलबार । हिन्दू नारीहरुले आज महान चाड हरितालिका तीज महादेवको पूजाआराधना गर्दै मनाउँदैछन् । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ ।

हिमालय पर्वतले विष्णुलाई कन्यदान दिन लागेको थाहा पाएर शखीहरूले पार्वतीलाई कसैले नदेख्ने ठाउँमा लुकाएर राखेको र सोही स्थानमा पार्वतीले निर्जला व्रत बसेको हुनाले यसलाई हरितालिका व्रत भन्ने गरिएको स्कन्द पुराणमा उल्लेख गरिएको छ ।

विवाहित महिलाले पतिको दिर्घायु तथा अविवाहितले शुयोग्य बर पाउनका लागि अघिल्लो दिन राति अवेर दर खाएर भोलिपल्ट तीजको दिन निराहार ब्रत बसेर शिवको पुजा गर्ने परम्परा छ ।

भाद्र शुक्ल द्वितीयाका दिन हिजो राति दर खाई आज तृतीयाका दिनदेखि सुरु हुने तीज पर्व पञ्चमीको दिन अरूनधत्तीसहित सप्तऋषिको पूजा गरेपछि सम्पन्न हुन्छ । दिनभरि पानी पनि नखाई निर्जल वा निराहार बस्ने व्रत भएकाले एक दिनअघि नाचगान रमाइलो गरी राति दरका रूपमा मीठा परिकार खाने गरिन्छ ।

हरितालिका तीजको दिन आज बिहानैदेखि देशभरका शिवालय तथा मन्दिरहरुमा ब्रतालुको भीड लागेको छ । तीजको अवसरमा आज पशुपतिनाथ मन्दिरका चारवटै ढोका खुला गरिएको छ । २०६५ सालपछि पशुपतिनाथको पूर्वी ढोका पहिलोपटक दिनभरिका लागि खोलिएको हो । जसका कारण मन्दिरमा दर्शन गर्न विगत जस्तो लामो लाईनमा घण्टौं बस्ने समस्या समाधान भएको छ ।

महिलाहरुले वर्षदिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई पोख्ने पर्वका रुपमा समेत उपयोग गर्ने गरेका छन् । तिजको अवसरमा गीतका माध्यमबाट यस्ता मर्कालाई महिलाले सार्वजनिक गर्दछन् ।

तीजका लागि सरकारले आज महिलाहरुलाई सार्वजनिक विदा दिएको छ ।

Facebook Comments