Tue. Apr 30th, 2024

आज तिजको दर खाने दिन

काठमाण्डौं, २०७९ भदौं १३ गते सोमबार । हिन्दू धर्मावलम्बी महिलाहरूको महान चाड हरितालिका तिजको अघिल्लो दिन आज दर खाने दिन हो । तिज पर्वको अघिल्लो दिन तिजको व्रत बस्न शक्ति प्राप्तिका लागि नेपाली हिन्दू महिलाहरूले दर खाने चलन रहेको छ । दर खाने दिनमा विभिन्न मिठा परिकार खाने र नाचगान गरेर रमाइलो गर्ने परम्परासमेत रहिआएको छ ।

दर खाने दिनको भोलिपल्ट तिज पर्व पर्दछ । तिजको दिन निराहार व्रत बस्ने परम्परा भएकाले त्यसका लागि शक्ति प्राप्त गर्न अघिल्लो साँझ पौष्टिक तत्व भएका खीर, चाम्रे, ढकने, रोटी, दही, दूध, घ्युलगायतका खानेकुरा खाने गरिन्छ ।

दर खाने समय र स्थान भने ठाउँ अनुसार फरक फरक रहेको छ । कतै साँझमा अन्य चीज नखाई दर खाने प्रचलन छ भने कतिपय स्थानमा पहिला खाना खाएर मध्यरातमा दर खाने गरिन्छ ।

परापूर्वकालमा देवी पार्वतीले भगवान शिवलाई स्वामी पाउँ भनी निराहार व्रत बसेको र उनको कामना पूरा भएको विश्वासका साथ अविवाहिताले राम्रो पति पाउन र विवाहिताले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै तिज पर्व मनाउने चलन छ ।

Facebook Comments