Tue. Apr 30th, 2024

आज कुशे औँसी, बुबाको मुख हेर्ने दिन

भिओके समाचार/काठमाण्डौं, २०७९ भदौं ११ गते शनिबार । प्रत्येक वर्ष भाद्रकृष्ण औंसीका दिन मनाईने कुशे औंसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरी देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्रियाएर मनाउँदैछन् ।

आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा.रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

साथै आजका दिन बुबाको मुख हेर्ने गरिन्छ । बुबालाई मन पर्ने मिठाइ तथा भोजन खुवाइ आदर सम्मान प्रकट गर्ने र मुख हेर्ने चलन छ । बुबा नहुनेहरू विभिन्न पवित्र ठाउँमा गएर तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिधा दिन्छन् ।

कुशे औँसीका दिन पिताको भौतिक उपस्थिति हुने छोराछोरीले उहाँको मुख हेरेर मिठाई, फलफूल, कपडा आदि उपहार दिने र परदेशमा हुने छोराछोरीले फोनबाटै पनि कुरा गर्छन् भने भौतिक रूपमा अस्त भइसकेका पिताहरूलाई छोराछोरीहरूले तस्बिर हेरेर अथवा विभिन्न धार्मिकपीठ, देवालयमा गएर स्नान गरि श्राद्ध गरेर तर्पण दिने चलन रहेको छ ।

आज काठमाडौंमा रहेको गोकर्णेश्वर महादेव, रसुवाको बेत्रावती, तनहुँको देवघाट, विष्णुपादुका तथा सुनसरीको बराहक्षेत्र लगायतका पवित्र तीर्थस्थल पिता नभएका छोराछोरीहरु गएर श्राद्ध गर्ने र पितालाई सम्झने चलन रहेको छ ।

कुशे औँसीका दिन काठमाण्डौको गोकर्णेश्वर महादेव मन्दिरमा मेला लाग्ने गर्छ । विशेष मेला लाग्ने भएकाले आजको औँसीलाई गोकर्णे औँसीका रुपमा पनि चिनिन्छ । गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिधादान गर्नेहरूको भीड लाग्ने गर्छ । तर यस वर्ष पनि कोरोना भाइरसको सङ्क्रमण जोखिमका कारण मन्दिर क्षेत्र बन्द रहेको छ।

Facebook Comments