Thu. May 16th, 2024

बङ्गलादेशले नेपालबाट ४० देखि ५० मेगावाटसम्म बिजुली लैजाने

भिओके समाचार/काठमाण्डौं, २०७९ भदौं १० गते शुक्रबार । बङ्गलादेशले नेपालबाट ४० देखि ५० मेगावाटसम्म बिजुली लैजाने भएको छ ।

काठमाडौमा विहिबार सकिएको दुई देशका उर्जा सचिवस्तरीय जोइन्ट स्टेयरिङ कमिटी जेएससीको चौथो बैठकले सो सहमति गरेको हो । तर, नेपालको बिजुली बङ्गलादेश लैजानका लागि भारतीय संरचना र पूर्वाधार प्रयोग गर्नुपर्ने भएकाले सम्बन्धित पक्षबीच त्रिपक्षीय छलफल गरिने बताइएको छ ।

बैठकले त्रिपक्षीय छलफल गर्ने सहमति भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव मधुप्रसाद भेटुवालले जानकारी दिनुभयो । उहाँका अनुसार प्राधिकरण र बङ्गलादेशको बोर्डले एनभीभीएनलाई अनुरोध गर्ने सहमति भएको छ । एनभीभीएन भारतको ऊर्जा व्यापारको ‘नोडल एजेन्सी’ हो । अहिले भारतबाट बिजुली लगिरहेको संरचनाले धान्ने बराबरको बिजुली लैजान तयार भएको बङ्गलादेशले जनाएको छ ।

विद्यमान संरचनाले झन्डै ४० देखि ५० मेगावाटसम्म बिजुली लैजान सकिने देखिएको छ । यस्तै, बङ्गलादेशले कुल ६ सय ८३ मेगावाट क्षमताको सुनकोसी तेस्रो जलविद्युत् आयोजना निर्माणका लागि संयुक्त लगानी गर्नेबारे प्रारम्भिक रुपमा सहमति जनाएको छ ।

यो आयोजनाको वातावरणीय अध्ययन प्रतिवेदन यथाशीघ्र बङ्गलादेशलाई उपलब्ध गराइने छ । यस आयोजनाको सम्पूर्ण अध्ययन प्रतिवेदन नेपालले बङ्गलादेशलाई उपलब्ध गराउने र बङ्गलादेशले पनि आफ्नो धारणा दिने सहमति भएको सहसचिव भेटुवालले जानकारी दिनुभयो । क्षमता अभिवृद्धि, तालिम आदानप्रदानका बारेमा सम्बन्धित निकायकाबीचमा भावी कार्यदिशा तयार गर्न संयुक्त प्राविधिक टोलीलाई जिम्मा समेत दिइएको छ ।

Facebook Comments