Sun. May 5th, 2024

सोमपाल, विवेक र दुई व्यवस्थापकको भिसा आउदा ३ जना खेलाडीको भिसा अझै आएन

भिओके समाचार/काठमाण्डौं, २०७९ भदौं ८ गते बुधबार । केन्याविरुद्धको पहिलो टी–२० आई खेल सुरु हुन एक दिनमात्र बाँकी रहदा भिसा समस्याका कारण नेपालका पाँच जना क्रिकेटर सहित ट्रेनर र व्यवस्थापक केन्या भ्रमणमा जान पाएका छैनन् । भिसा समस्याकै कारण सिरिज सुरु हुन केही घण्टा मात्र बाँकी रहदा टोली भने अपूर्णनै छ ।

मंगलबार सम्म भिसा आउन नसकेका सोमपाल कामी र विवेक यादव तथा ट्रेनर अब्दुल सतार र क्रिकेट म्यानेजर सुनिल महासेठको भिसा आईसकेको छ भने अन्य ३ खेलाडीहरु बसिर अहमद, शाहब आलम र आदिल अन्सारीको भिसा आउन नसकेको क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले रे टेलिभिजनलाई जानकारी दिनु भयो ।

मल्लका अनुसार भिसा आएका दुई खेलाडी र २ जना टिम व्यवस्थापक आजनै केन्या प्रस्थान गर्ने छन् भने बाँकी रहेका ३ खेलाडी भिसा आएपछि त्यस तर्फ प्रस्थान गर्ने छन् । यद्यपी नेपाल र केन्याविरुद्धको पहिलो टी-२० आई भोली विहिबार खेलीने भएकाले भिसा आउन बाँकी ३ खेलाडी पहिलो खेलका लागी उपलब्ध हुने सम्भावना रहेको छैन । केन्याविरुद्धको पाँच खेलको टि-२० आई र तीन खेलको एकदिवसिय सिरिजका लागी नेपाली टोलीका ११ खेलाडी सोमबारनै त्यस तर्फ प्रस्थान गरिसकेका छन् ।

केन्याको अनलाइन भिसा फम भर्नुपर्ने र सबैको फम एकै दिन भरिए पनि सबै भिसा एकै समय नआएका कारण समस्या परेको मल्लले बताउनु भयो । नेपालले केन्यासंगको पहिलो टि-२० आई खेल भदौ ९ मा खेल्नेछ । त्यस्तै दोस्रो टि-२० आई खेल भदौ १० गते, तेस्रो टि-२० आई भदौं १२ गते चौथो खेल भदौं १३ गते र अन्तिम टि-२० आई खेल भदौं १४ गते खेल्नेछ । त्यसपछि क्रमस भदौ १७, १८ र २० गते एकदिवसिय खेल खेल्नेछ ।

यस भ्रमण अन्तर्गतको टि-२० आई सिरिज नेपालका लागी निकै महत्वपूर्ण रहेको छ । यस सिरिजले नेपालको टि-२० वरियतामा ठूलो प्रभाव पार्नेछ । वरियताकै आधारमा सन् २०२४ मा अमेरिका र वेस्टइन्डिजमा हुने टि-२० विश्वकपमा शिर्ष १० बाहेक त्यस पछिका शीर्ष दुई टोलीले सोझै विश्वकप खेल्न पाउने छन् । साथै यसै सिरिजबाट नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरले नेपाली टोली सम्हाल्नु हुने भएकाले यसलाई उहाँको परिक्षाको रुपमा समेत हेरिएको छ ।

Facebook Comments