Fri. Apr 26th, 2024

नागरिकता विधेयकमा राष्ट्रिय सहमति तय गर्ने सुवर्ण अवसर : सांसद भट्टराई

फाईल फोटो

भिओके समाचार/काठमाण्डौं, २०७९ साउन ३१ गते मंगलबार । प्रतिनिधि सभामा राष्ट्रपतिबाट सन्देशसहित नागरिकता विधेयक फिर्ताको सन्देश प्रस्तुत भएको छ ।

उक्त विधेयक बारे बोल्दै नेकपा एमालेका सांसद विशाल भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीबाट नागरिकता विधेयक सन्देशसहित फिर्ता हुनु राजनीतिक दलहरूका लागि नागरिकता विधेयकमा राष्ट्रिय सहमति तय गर्ने सुवर्ण अवसर भएको बताउनुभयो । सांसद भट्टराईले वैवाहिक अंगीकृत नागरिकता प्राप्तिमा कम्तीमा पनि ७ वर्षे समय सीमा कायम राख्नुपर्ने बताउनुभयो ।

यस्तै प्रतिनिधि सभा बैठकमा नेपाली काँग्रेसकी सांसद लक्ष्मी परियारले दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेललाई कारबाही गर्न सरकारसँग माग गर्नुभयो ।

यस्तै नेकपा माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतले रुकुम पश्चिमको चौरहजारी विमानस्थलमा हवाई सेवा सञ्चालन गर्न सरकारसँग माग गर्नुभयो ।

शून्य समयमा बोल्दै सत्तारुढ नेकपा (माओवादी केन्द्र)की सांसद सत्य पहाडीले बजेट भाषणमा उल्लेख गरिएको विद्यार्थीका लागि सहुलियतपूर्ण कर्जा र बेरोजगार लक्षित प्रधानमन्त्री रोजगार कार्यक्रम केवल कर्णप्रिय नारा मात्रै भएको भन्दै प्रभावकारी कार्यान्वयन गर्न सरकारसँग माग गर्नुभयो ।

यस्तै नेकपा (माओवादी केन्द्र) का सांसद दुर्गाबहादुर रावतले पशु स्वास्थ्यका सन्दर्भमा नेपालका ग्रामीण भेगहरूमा पुर्ख्यौली ज्ञानबाट सेवा प्रदान भइरहेको स्मरण गराउँदै पुर्ख्यौली ज्ञानलाई कसरी संकलन गर्ने र यसको संरक्षण कसरी गर्ने ध्यान दिनुपर्ने बताउनुभयो ।

यस्तै नेकपा (माओवादी केन्द्र)का सांसद गजेन्द्रबहादुर महतले चिकित्सकलाई ग्रामीण भेगमा रहने वातावरण बनाइनुपर्नेमा जोड दिनुभयो ।

Facebook Comments