Wed. May 8th, 2024

काठमाण्डौंमा पाकिस्तानको ७५ औ स्वतन्त्रता दिवस मनाईयो

sdr

रमेश हतुवाली/काठमाण्डौं, २०७९ साउन ३० गते सोमबार । काठमाण्डौंमा विभिन्न कार्यक्रमहरुको आयोजना गरि पाकिस्तानको ७५ औ स्वतन्त्रता दिवस मनाईएको छ । काठमाण्डौ महाराजगञ्जस्थित पाकिस्तानी राजदूतावासमा आइतबार नेपालका लागि पाकिस्तानी राजदूत सैइद हैदर साहले पाकिस्तानको राष्ट्रिय झन्डा झन्डोत्तोलन गरेर कार्यक्रमको सुरुवात गर्नुभएको थियो ।

कार्यक्रममा दूतावासका अधिकारी तथा कर्मचारीहरू र पाकिस्तानी समुदायको उत्साहजनक सहभागिता रहेको थियो । सो अवसरमा पाकिस्तानका राष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना सन्देश पढेर सुनाइएको थियो ।

कार्यक्रममा राजदूत साहले मोहम्मद अली जिन्नाको नेतृत्वमा भएको ऐतिहासिक पाकिस्तानी आन्दोलनको स्मरण गर्नुभयो । उहाँले जम्मु कश्मीर विवादको उल्लेख गर्दै त्यस क्षेत्रको दिगो शान्ति, स्थायित्व र समृद्धिका लागि जनताको चाहना र संयुक्त राष्ट्र संघको प्रस्तावअनुसार लामो समयदेखि चलिरहेको विवादको समाधान अपरिहार्य रहेको पनि बताउनु भयो ।

सोही साँझ काठमाण्डौं नक्सालस्थित होटल म्यारियटमा पाकिस्तानी राजदूतावास र नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक सङ्गठनले संयुक्त रूपमा स्वागत समारोहको आयोजना गरेका थिए । सो स्वागत समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन प्रमुख अतिथिको रुपमा सहभागी हुनुभएको थियो ।

सो कार्यक्रममा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले नेपाल र पाकिस्तानबीचको सम्बन्ध सुमधुर रहेको र पारस्परिक सहयोग निरन्तर वृद्धि भैरहेको बताउनुभयो । उहाँले नेपालको शैक्षिक क्षेत्रमा पाकिस्तानले गरेको सहयोगको प्रशंसा पनि गर्नुभयो ।

नेपालका लागि पाकिस्तानका राजदूत सइद हैदर शाहले छ दशकभन्दा पुरानो पाकिस्तान र नेपालबीचको सम्बन्धलाई अझ सुदृढ तुल्याउन आफू क्रियाशील रहेको बताउनुभयो । साथै राजदूत शाहले नेपाल र पाकिस्तानबीचको सम्बन्ध ऐतिहासिक रहेको पनि स्मरण गराउनु भयो ।

उहाँले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को सदस्य पाकिस्तान र नेपालले क्षेत्रीय चासोका साझा विषयमा सहकार्य गरिरहेको चर्चा गर्दै दक्षिण एसियाको आर्थिक उन्नतिका लागि क्षेत्रीय शान्ति अपरिहार्य भएको बताउनुभयो ।

वार्ता र संवादका माध्यमबाट सबै समस्याको निकास खोज्न पाकिस्तान तयार रहेको बताउँदै उहाँले दक्षिण एसियाको समृद्धिका निम्ति क्षेत्रीय शान्ति र स्थायित्व सुनिश्चित हुनुपर्नेमा जोड दिनुभयो ।

नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक सङ्गठन सभापति हिमालय शमशेर जबराले ६१ वर्षदेखि सक्रिय सङ्गठनले दुई देशबीचको सम्बन्ध सुमधुर बनाउन सक्रियतापूर्वक काम गरिरहेको बताउँदै सरकारी स्तरका साथै जनस्तरमा समेत सुमधुर रहेको नेपाल–पाकिस्तान सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन आफूहरू प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।

रात्रीभोजसहितको स्वागत समारोहमा नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरु, नेपालस्थित विभिन्न देशका कुटनीतिक नियोगका अधिकारीहरु, विभिन्न राजनीतिक दलका नेताहरु, शिक्षक, विद्यार्थी, समाजसेवी, कानूनव्यवसायी, कलाकार, लेखक, सञ्चारकर्मी लगायतका महानु्भावहरुको भव्य उपस्थिती रहेको थियो ।

Facebook Comments