Sat. May 4th, 2024

बालाजु आगलागीमा लाखौंको क्षति

काठमाण्डौं, २०७९ साउन २५ गते बुधबार । काठमाडौंको बालाजु बाइसधारामा रहेको एक गोदाममा बुधबार आगलागी हुँदा लाखौंको क्षति भएको छ । जुत्ताचप्पल बनाउने कच्चा पदार्थको भण्डारस्थल खराउ ट्रेडिङ नामक गोदाममा आगलागी भएको हो ।

गोदाममा आगलागी भएलगत्तै आगो नियन्त्रणका लागि काठमाडौं, भक्तपुर र ललितपुरका दमकलसहित सुरक्षाकर्मी र स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणामा आएको छ । आगलागीमा मानवीय क्षति भने नभएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिनुभयो । करीब ७०-८० लाख बराबरको कच्चा पदार्थ रहेकामा करिब ४० लाख जतिको क्षति भएको खराउ ट्रेडिङका सञ्चालक गंगा प्याकुरेलले बताउनुभयो ।

आगो लागेको थाहा पाउने बित्तिकै महत्वपूर्ण १०-१२ लाखको सामान बाहिर निकाल्न सफल भएको प्रत्यक्षदर्शी भक्त जोशीले बताउनुभयो । मध्यान्हदेखि लागेको आगो लगभग २ घण्टामा नियन्त्रणमा आएको छ । आगलागीको कारण भने खुल्न सकेको छैन ।

Facebook Comments