पेलोसीको थाइवान भ्रमणले उब्जाएका प्रश्नहरू
- डा.सर्वोत्तम श्रेष्ठ
काठमाण्डौं, २०७९ साउन २५ गते बुधबार ।
डा.सर्वोत्तम श्रेष्ठ/२०२२ अगष्ट २ तारीख बेलुकी विश्वका करोडौं मानिसहरूका आँखा विभिन्न माध्यमद्वारा थाइवान्को राजधानी थाइपेइमाथि उड्दै गरेको अमेरिकी विमानमा केन्द्रित रह्यो । उक्त विमानभित्र अमेरिकी प्रतिनिधिसभाका सभामुख पेलोसी यात्रा गरिरहेकी थिइन् । स्थानीय समय बेलुकीको १०ः४३ बजे उक्त विमान थाइपेइ विमानस्थलमा अवतरण गर्ने कार्यक्रम थियो । विमान अवतरणको समय जति नजिकिँदै गयो, मानिसहरू उति नै बेचैन हुँदै गए, किनकि चीनले पेलोसीको उक्त भ्रमणको कडा शब्दमा विरोध गर्दै आएको थियो र पेलोसीले चीनको विरोधलाई बेवास्ता गरी थाइपेइ गएमा चीनले जस्तोसुकै कारवाही गर्नसक्ने चेतावनी पनि दिदै आएको थियो । चीनको विरोधलाई वास्ता नगरी पेलोसी चढेको विमान थाइपेइतिर उड्दै गएपछि चीनले क्षेप्यास्त्र प्रहार गरी उक्त विमानलाई थाइपेइ विमानस्थलमा अवतरण हुनुअघि नै खसाल्ने हो कि ? अथवा पेलेसी चढेको हवाइजहाज अवतरण हुनासाथ चीनले थाइवान्माथि सैन्य हमला गर्ने हो कि ? करोडौं चीनियाँ जनता खासगरी देशभक्त युवाहरू उत्तेजित भइरहेका थिए । तर त्यस्तो केही भएन, पेलोसी चढेको विमानले पूर्वनिर्धारित समयमा थाइपेइ विमानस्थलमा अवतरण ग¥यो । पेलोसीले आफ्नो पूर्वनिर्धारित कार्यक्रम अनुसार औपचारिक अनौपचारिक भेटघाट गरी भोलिपल्ट थाइपेइबाट उडिन् ।
चीनले र चीनका मैत्रीपूर्ण देशका विभिन्न संघसंस्थाहरूले त्यत्रो विरोध गरी चेतावनी दिदा पनि त्यसलाई वास्ता नगरी थाइवान् भ्रमणमा गएकी हुँदा चीनियाँ जनता पेलोसी र अमेरिकासंग अति क्रुद्ध भए । अझ ठूलै संख्यामा चीनियाँ युवाहरू चीनले खालि चेतावनी र धम्की मात्र दिए व्यवहारमा केही गर्न नसकेकोमा आफ्नै सरकारप्रति पनि निराश भए । चीनले संयमित भएर कुनै विवेकहीन कार्य नगरेकोमा हामी जस्ता चीनका शुभेच्छुकहरू भने ढुक्क भयौं ।
थाइवान् चीनको अभिन्न भूभाग हो । विश्वमा एउटै मात्र चीन छ भन्ने कुरा विश्वका १९० भन्दा बढी देशहरूले स्वीकारेका छन् । यसरी विश्वमा एउटै मात्र चीन छ भनेर मान्ने देशहरूमा अमेरिका र अधिकांश युरोपीय मुलुक पनि रहेका छन् । नेपालले त चीनसँग सम्बन्धित हरेक कार्यक्रममा यो कुरा दोहो¥याइरहन्छ । स्वयं पेलोसीले पनि थाइवान्बाट प्रस्थान गर्नुअघिको वक्तव्यमा अमेरिकको एक चीनको नीति दोहो¥याएको सञ्चार माध्यमहरूमा सुनिन आएको छ ।
पेलोसीको थाइवान् भ्रमणलाई लिएर चीनले अमेरिकी राष्ट्रपति बाइडेन समक्ष पनि विरोध गरेको थियो । बाइडेनले पेलोसीले अमेरिकी सरकारको प्रतिनिधित्व नगर्ने बताउँदै त्यो उनीको व्यक्तिगत कार्यक्रम भएको र उनको त्यस कार्यक्रमलाई आफूले हस्तक्षेप गर्न पनि नसक्ने बताएका थिए । अहिले विचार गर्दा, अमेरिकी राष्ट्रपतिले पेलोसीले अमेरिकी सरकारको प्रतिनिधित्व नगरेको बताएपछि चीनले पेलोसीको भ्रमणलाई किन त्यत्रो महत्व दिएर विरोध गर्नुपरेको थियो जस्तो अनुभव हुन्छ । अहिले सोच्दा यसलाई आफ्नो इज्जतको सवाल नबनाई कूटनीतिक रूपमा कडा विरोध मात्र गरेको मात्र भए हुन्थ्यो कि भन्ने अनुभव हुन्छ । अन्तरराष्ट्रिय रूपमा यसलाई ठूलो मुद्दा बनाएर देशभित्र सबै जनतलाई जोस्याएर धम्क्याउँदा पनि पेलोसी पूर्वनियोजित कार्यक्रम अनुसार थाइवान् भ्रमणमा जानु, पेलोसी थाइवान्मा गई पूर्व योजना अनुसार कार्य गर्दा चीन मूक दर्शक भएर बस्दा चीनको इज्जतमा ठूलो धक्का पुग्न गयो । चीनका देशभक्त जनतामा निराशा छायो ।
अहिले चीनका कतिपय सञ्चार माध्यमहरू पनि पेलोसीको उक्त भ्रमणलाई अति बढी महत्व दिई प्रचार गरियो भन्ने आशयका लेखहरू प्रकाशन गर्न थालेका छन् । हुन त त्यस्तो अवस्था ल्याउनमा चार करोडभन्दा फलोअर भएका एक चीनियाँ वरिष्ठ सरकारी पत्रकारको हात रहेको थियो । हेर्दा देशभक्त जस्तो देखिने भएको हुँदा चीन सरकारले त्यसलाई नियन्त्रण गरेको थिएन । वास्तवमा चीनका लागि थाइवान्को एकीकरण सबैभन्दा महत्वपूर्ण प्रश्न हो, पेलोेसीको भ्रमण होइन । चीनको चेतावनीबाट पेलोसी थाइवान्को भ्रमण नगरी गएकी भए के त्यो चीनको विजय हुने थियो र ? त्यसले थाइवान् एकीकरणमा योगदान पुर्याउँथ्यो अथवा अरू जटिलता ल्याउँथ्यो, विचारणीय छ ।
अहिले नै चीनको कडा विरोध, चीनका अन्तरराष्ट्रिय मैत्री शक्तिहरूको विरोधले गर्दा यस घटनाप्रति अन्तरराष्ट्रिय समुदायको गम्भीर ध्यानाकर्षण भएको छ । थाइवान्लाई चीनको अभिन्न भूभाग मान्ने देशहरूले पनि चीनको अति प्रतिक्रियाले गर्दा सशंकित र निराश भई चीनलाई अर्कै दृष्टिले हेर्न थालेका छन् ।
पेलोसीको थाइवान् भ्रमण पछि चीनले थाइवान् टापु वरपर ६ ठाउँमा सैन्य अभ्यास प्रारम्भ गरेको छ र यसलाई थाइवान्लाई आफ्नो कब्जामा ल्याउने एक नयाँ कदम भनेको छ । पेलोसीको भ्रमणले आफ्नो इज्जतमा धक्का पुगे पनि थाइवान् टापू वरपर सैन्य अभ्यास गरी थाइवान्लाई नाकाबन्दी गर्न सकिएकोलाई उपलब्धिको रूपमा प्रस्तुत गरिएको छ । वास्तवमा यस कदमले पनि थाइवान्का आफ्नै जनता चिढाउने र अनावश्यक सैन्य खर्च बढाउने बाहेक अरू तात्विक उपलब्धि हुने भने होइन ।
विभिन्न ऐतिहासिक कारणहरूले चीनकै एक भूभाग, एक प्रान्त भए पनि १९४९ पछि थाइवान् राजनीतिक रूपमा चीनसँग एकीकरण हुन सकेन । थाइवान् एकीकरणलाई चीन सरकारले पहिले देखि नै अति उच्च महत्व दिदै आएको छ । दुई दशक अघिसम्म थाइवान्का अत्यधिक जनता पनि एउटै चीनको पक्षमा थिए । तर दुई दशक अघिदेखि थाइवान्लाई स्वतन्त्र देश बनाउनुपर्ने आवाज ठूलो हुँदै आएकोले चीनको चिन्ता बढ्न थालेको हो ।
चीनले थाइवान्लाई एकीकरण गर्ने दुई उपाय छन्, एक शान्तिपूर्ण एकीकरण, अर्को सैन्य आक्रमणद्वारा बलपूर्वक एकीकरण । चीन सुरुदेखि शान्तिपूर्ण एकीकरणको पक्षमा थियो र एकीकरणपछि हङकङ मकाउमा जस्तै “एक देश दुई राजनीतिक व्यवस्था” लागू गर्ने सोचमा थियो । तर हङकङ्मा भएका घटनाहरूको विदेशी सञ्चार माध्यमहरूको गलत प्रचारप्रसारले थाइवान्का केही जनताले “एक देश दुई राजनीतिक व्यवस्था” सफल नभएको ठान्न थाले र थाइवान्लाई स्वतन्त्र देश बनाउनुपर्ने आवाज बढ्दै गयो । जसले गर्दा चीनले थाइवान्को शान्तिपूर्ण एकीकरण गर्ने सम्भावना हुँदै गएको देख्न थाल्यो ।
शान्तिपूर्ण एकीकरणको विकल्प भनेको सैन्य आक्रमणद्वारा एकीकरण हो । यदि सैन्य शक्तिको मात्र विचार गर्ने हो भने चीनको जनसेनाले दुई तीन दिनमै थाइवान्लाई नियन्त्रणमा लिन सक्दछ भन्ने आँकलनमाथि शंका गर्ने ठाउँ छैन । तर सैन्य आक्रमणद्वारा एकीकरण गर्दा आफ्नै वंशज दाजुभाइको रक्तपात हुने, आफ्नै देशको एक भूभागको विध्वंस हुने, त्यसमा फेरि अन्य विदेशी शक्तिहरूको हस्तक्षेप हुने, युद्ध लम्बिँदै गएर आफ्नो अर्थतन्त्र नै ध्वस्त हुने कतिपय नकारात्मक कुराहरू छन् । तसर्थ सैन्य आक्रमण गरी एकीकरण गर्न जति छिटो छरितो सहज छ, त्यसपछिका परिणामहरूको व्यवस्थापन त्यति सहज छैन ।
चीन थाइवान्को एकीकरणमा अमेरिकी लगायत चीनविरोधी शक्ति सधैं लागिपरेका छन् र लागिरहने पनि छन्, यसमा कुनै शंका छैन । चीनले मूलभूत प्रश्न थाइवान्को एकीकरण गर्नु हो, थाइवान्का जनतालाई एकीकरण गर्नु हो । यस कार्यका लागि सबैभन्दा ठूलो कुरा थाइवान्का जनतालाई आफ्नो नजिक ल्याउनु हो, उनीहरूको मन जित्नु हो । थाइवान्का जनताले नै चीनसँग एकीकरण हुन चाहेमा त्यसलाई कसैले रोक्नसक्ने छैन, तसर्थ अबका दिनहरूमा थाइवान्को एकीकरणका लागि अझ बढी विवेक प्रयोग गर्नुपर्ने देखिन्छ ।
नोट : डा.सर्वोत्तम श्रेष्ठ वरिष्ठ न्यूरोलोजिष्ट तथा अरनिको समाजका निवर्तमान अध्यक्ष हुनुहुन्छ ।