Sat. May 18th, 2024

नागरिकता विधेयक प्रमाणीकरण हुन ढिलाइ नहुनु पर्थ्यो : प्रचण्ड

विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रचण्ड । फोटो : नारायणकाजी श्रेष्ठको फेसबुक

काठमाण्डौं, २०७९ साउन २५ गते बुधबार । सत्तारुढ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदको दुवै सदनबाट पारित भएर राष्ट्रपतिकहाँ पुगेको नागरिकता विधेयक प्रमाणीकरण हुन ढिलाइ भएकामा असन्तुष्टि जनाउनुभएको छ ।

जापानको चारदिने भ्रमण सकेर बुधबार साँझ स्वदेश फर्कनु भएका प्रचण्डले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उक्त असन्तुष्टि जनाउनु भएको हो । ‘राष्ट्रपतिजीले रोक्नुहुन्न भन्ने लाग्छ, तर ढिलो नहुनुपर्थ्यो’ प्रचण्डले भन्नुभयो ।

नागरिकता संशोधन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण हुन ढिलाइ हुँदा अनेक आशंकाहरू उत्पन्न भइरहेका छन् । यसै सन्दर्भमा प्रचण्डले जापानमै रहँदा पनि नागरिकता विधेयक कुनै पनि सर्तमा प्रमाणीकरण हुनुपर्ने र नभएमा राम्रो नहुने चेतावनी दिनुभएको थियो ।

अर्को एक प्रसंगमा प्रचण्डले जापानको फोहोर व्यवस्थापनमा संसारकै अग्रस्थान रहेको दाबी गर्नुभयो । उहाँले फोहोर व्यवस्थापन कसरी गर्ने भन्ने कुरा जापानबाट सिक्नुपर्ने बताउनुभयो ।

उहाँले आफ्नो जापान भ्रमण धेरै राम्रो भएको दाबी पनि गर्नुभयो । ‘पहिलो पटक जापान गएको हो, के होला कसो होला भन्ने थियो, तर धेरै राम्रो भयो’ उहाँले भन्नुभयो । साउन २१  गते जापान भ्रमणमा जानुभएका प्रचण्ड चार दिनपछि बुधबार नेपाल फर्किनुभएको हो ।

Facebook Comments