Mon. May 6th, 2024

एमाले अध्यक्ष ओलीसँग सीपीसीका विदेश विभाग प्रमुख लिउको भेटवार्ता

एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुहुँदै चिनियाँ नेता लिउ च्यानछाओ । फोटो सौजन्य : विष्णु रिजाल

रमेश हतुवाली/ काठमाण्डौं, २०७९ असार २८ गते मंगलबार । नेपाल भ्रमणमा रहनु भएका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ च्यानछाओले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्नु भएको छ । ओली निवास बालकोटमा आज विहानदेखि भएको शिष्टाचार भेटमा दुई देशबीचको सम्बन्ध र आपसी हितका विविध विषयमा छलफल भएको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ ।

नेपालको चार दिने भ्रमणका लागि लिउ आइतबार काठमाडौं आउनु भएको हो । काठमाडौं आएकै दिन लिउले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गर्नुभएको थियो । यसैगरी हिजो सोमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नुभएको थियो । भोलि बुधबार चिनियाँ नेता लिउले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिँदै गर्दा चिनियाँ नेताले गर्नुभएको यस भ्रमणलाई कुटनीतिक क्षेत्रमा महत्वका साथ हेरिएको छ । नेपाल कम्युनिष्ट पार्टी विभाजन भएसँगै चिन्तित रहेको उत्तरी छिमेकी चीन आगामी निर्वाचनमा सकेसम्म नेपालका कम्युनिष्ट पार्टीलाई एक भएर चुनाव लडेको हेर्न चाहान्छ । नेता लिउको भ्रमण पनि यसै दिशामा केन्द्रित रहेको विज्ञहरु बताउँछन् ।

Facebook Comments