Wed. Apr 24th, 2024

नेपालको विकासमा ‘चीन सरकारको दक्षिण सहयोग सहायता कोष’ले सहयोग पुग्ने सीपीसी विदेश विभाग प्रमुख लिउको भनाइ

काठमाण्डौं, २०७९ असार २७ गते सोमबार । नेपाल भ्रमणमा रहनु भएका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ च्यानछाओले चिनियाँ राष्ट्रपति एवम् पार्टीका महासचिव सि चिनफिङले घोषणा गर्नुभएको ‘चीन सरकार दक्षिण सहयोग सहायता कोष’ले नेपालको विकासमा सहयोग पुग्ने बताउनुभएको छ ।

विदेश विभाग प्रमुख लिउले दक्षिण सहयोग सहायता कोष स्थापना गर्ने घोषणा गरिसकिएको उल्लेख गर्नुहुँदै यस कोषले नेपालसहितका देशहरुलाई विकासको क्षेत्रमा महत्वपूर्ण सहयोग पुर्याउने बताउनुभएको हो ।

काठमाडौंको वसन्तपुरमा सोमबार आयोजित नेपाल स्माइलिङ चिल्ड्रेन प्रोजेक्टको उद्घाटन गर्दै लिउले बालबालिकाहरु खुशी भएमात्रै स्वस्थ रहनसक्ने बताउनु भयो । साथै उहाँले राम्रो अध्ययनका लागि बालबालिका स्वस्थ र खुशी हुन आवश्यक रहेकोमा जोड दिनु भयो ।

उहाँले आजका बालबालिका नै भविष्यका नेपाल र चीनका मित्रताका परिपूरक भएको उल्लेख गर्नुभयो । प्रमुख लिउले चिनियाँ कम्युनिष्ट पार्टीले नेपाल र चीन दुई मुलुकबीचको सामाजिक संगठनमा धेरै सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले नेपाली बालबालिकाहरुलाई चीनमा भ्रमणका लागि जान पनि आग्रह गर्नुभएको छ । प्रमुख लिउले चीनमा आएका नेपाली बालबालिकालाई स्वागत गर्न पाए आफू झनै खुशी अनुभव गर्ने र चिनियाँ बालबालिकाहरुसँग भेटघाट गराउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा उर्जा जलस्राेत तथा सिंचाइमन्त्री पम्फा भुसालले नेपाल चीनबीच अन्तरदेशीय क्रस बोर्डर ट्रान्समिसन लाइन निर्माण गरी स्वच्छ उर्जा व्यापारमा सहकार्य हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले लामो समयदेखि चीनले नेपाललाई आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको उल्लेख गर्दै चीनले आर्थिक तथा प्राविधिक सहयोगबाट नेपालको भौतिक पूर्वाधारको विकास, स्वास्थ्य, शिक्षा, जलस्राेत र खेलकुदमा सहयोग गरिरहेको स्पष्ट पार्नुभयो । मन्त्री भुसालले सरकारी तवरबाट सुनकोशी जलविद्युत् आयोजनामा सहयोग गरेपछिका दिनमा अहिल विभिन्न निजी स्तरमा सहयोग कार्य गरिरहेको उल्लेख गर्नुभयो ।

चीनले नेपालका सांस्कृतिक सम्पदा पुनर्निर्माणमा सहयोग गरेको उल्लेख गर्दै मन्त्री भुसालले नेपालको विकासका लागि चीनको सहयोग आवश्यक रहेको बताउनुभयो । मन्त्री भुसालले चीनले नेपालको औद्योगिकरण र आर्थिक विकासमा महत्वपूर्ण सहयोग गर्ने विश्वास लिएको पनि बताउनु भयो ।

Facebook Comments