Wed. Apr 24th, 2024

भाषा, सहित्य र संस्कृति राष्ट्रको सम्पत्ति हो : प्रदेश प्रमुख खापुङ्ग   

मोरङ, २०७९ असार २८ गते मंगलबार । प्रदेश नं १ का प्रदेश प्रमुख पर्शुराम खापुङ्गले भाषा, साहित्य, संस्कृति राष्ट्रको सम्पत्ति भएको बताउनुभएको छ । भानु कला केन्द्र विराटनगरद्वारा आदिकवि भानुभक्त आचार्यको २०९ औँ जन्मजयन्तीको उपलक्ष्यमा आज यहाँ आयोजित बहुभाषिक कविता वाचन तथा श्रष्टा सम्मान एवं सांस्कृतिक कार्यक्रमको उद्घाटन गर्दै उहाँले उक्त धारणा व्यक्त गर्नुभएको हो ।

प्रदेश प्रमुख खापुङ्गले भन्नुभयो, “बहुभाषिक, बहुसंस्कृतिको विविधतामा एकता रहेको छ, यसले लोकतन्त्रलाई बलियो बनाउन, शान्ति स्थापना, सार्वभौमिक अखण्डता कायम गर्न मद्दत पुगेको छ ।” उहाँले भाषा, संस्कृति हाम्रो पहिचानसहितको बहुमूल्य निधि भएकाले यसलाई संरक्षण र जगेर्ना गर्नुपर्नेमा जोड दिनुभयो । प्रदेश प्रमुख खापुङ्गले सम्पूर्ण भाषाभाषिले राष्ट्रिय एकता कायम राखि मुलुकको विकासमा सहभागी हुन आग्रह गर्नुभयो ।

रासस का अनुसार कला केन्द्रकी अध्यक्ष मायादेवी पौडेल, प्रचण्ड पौडेल, समालोचक दधिराज सुवेदी र सम्मानित डा घनश्याम न्यौपाने परिश्रमिले भाषा संस्कृतिको विकासले मुलुकको सम्पन्नता झल्किने धारणा राख्नुभयो । सो अवसरमा प्रदेश प्रमुख खापुङ्गले भानु पदकबाट डा घनश्याम न्यौपाने परिश्रमी, डा विजय पण्डित र सरला चापागाईँ, भानु पत्रकारिताबाट मोहन मानन्धर, चतुर्भुज आशावादी सम्मानबाट मातृका प्रसाद सङ्ग्रौला र मिलनसिंह मधुर रामकिशोर उपाध्यायलाई पदक एवं प्रमाणपत्रद्वारा सम्मान गर्नुभयो ।

कार्यक्रममा राई, ताजपुरिया, तामाङ, उर्दु मगर, मैथली, राजवंशी, भोजपुरी, नेपाल र लिम्बू भाषामा कवि तथा कवयित्रीहरूले कविचा वाचन गर्नुका साथै केन्द्रका कलाकारले नृत्य प्रस्तुत गर्नुभएको थियो ।

Facebook Comments