Sun. May 19th, 2024

नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय परिषद् बैठक काठमाण्डौंमा सुरु

काठमाण्डौं, २०७९ असार १३ गते सोमबार ।  नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय परिषद् बैठक काठमाण्डौंमा सुरु भएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा सुरु भएको उक्त बैठकमा पार्टीको देशभर भएका सांगठनिक गतिविधि, स्थानीय तहको चुनावको समीक्षा, आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि चुनावलक्षित कार्यक्रम, हालै सम्पन्न केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत भएका केही प्रतिवेदनमा छलफल गरिने कार्यक्रम रहेको छ ।

त्यसैगरी, पार्टीका महासचिव डा बेदुराम भुसालको राजनीतिक प्रतिवेदनमा विशेष छलफल गरिने कार्यक्रम रहेको छ । महासचिव भुसालको प्रतिवेदनमा राजनीतिक व्यवस्था रक्षाका लागि नेकपा (एमाले) बाट विद्रोह गरी सो पार्टी स्थापना गरिएको, कम्युनिस्ट आन्दोलनमा देखापरेको विसर्जनवाद र अवसरवादका विरुद्ध जनतालाई एकताबद्ध गर्न पार्टीको औचित्य र आवश्यकता तथा आगामी कार्यदिशाबारे उल्लेख गरिएको छ । रासस का अनुसार देशभरबाट करिब १ हजार ५०० प्रतिनिधि सहभागी हुने परिषद् बैठकको पार्टी अध्यक्ष माधवकुमार नेपालले शुभारम्भ गर्नुभएको छ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आउँदाे प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा पार्टीले २० लाख मत प्राप्त गर्नुपर्ने बताउनुभएको हो । उहाँले पालिका चुनावमा पार्टीले २८ प्रतिशत ठाउँमा उम्मेदवार खडा गरेको र नाै लाख मत प्राप्त गरेको पनि उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले पालिका चुनावमा २८ प्रतिशत उम्मेदवार खडा गर्दा नाै लाख मत प्राप्त गर्‍याैँ । यदि हामीले सबै ठाउँमा उम्मेदवार खडा गरेको भए योभन्दा दोब्बर, तेब्बर मत प्राप्त गर्न सक्ने थियौँ । कम्तीमा पनि २० लाखको सेरोफेरोमा हामीले मत प्राप्त गर्नसक्ने थियौँ । २० लाखको सेरोफेरोमा मत प्राप्त गर्ने हो भने हाम्रो प्रतिनिधि सभा र प्रदेश सभामा केही सिटहरू सुनिश्चित हुनेछ । प्रत्यक्ष रूपमा लडेर जितेका ठाउँमा अतिरिक्त सिट हामीले हासिल गर्न सक्दछौँ ।’

अध्यक्ष नेपालले प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा अधिकतम सफलता हासिल गर्न ध्यान दिन नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो । पार्टीको समानुपातिक मत बढाउनका लागि प्रतिनिधि सभा र प्रदेश सभाको सबै सिटमा अहिलेदेखि नै उम्मेदवार तयार गरेर राख्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा बाेल्दै अध्यक्ष नेपालले विश्व शक्तिराष्ट्रहरूका बीचमा द्वन्दका खतरा देखिएको भन्दै त्यसमा नेपाल सजग हुनुपर्ने बताउनुभयो । उहाँले नेपाली नागरिकमा देशभक्तिको भावना बलियो बनाउन सकेमा शक्तिराष्ट्रहरूको आन्तरिक द्वन्द्वबाट नेपाललाई बचाउन सकिने तर्क गर्नुभयाे । देशभक्तिको पक्षमा जनमत तयार गर्नु र देशभक्त नागरिकलाई आफ्नो वरपर गोलबन्द गर्नु पार्टीको जिम्मेवारी रहेको उहाँकाे भनाइ छ ।

उहाँले पार्टीको काममा सक्रियपूर्वक लाग्न र गरेका कामको प्रचारप्रसार गर्न पनि निर्देशन दिनुभयो ।

Facebook Comments