२०८३ भाद्र १७, बुधवार

नवनियुक्त चारजना मन्त्रीद्वारा पद तथा गोपनीयताको शपथ

राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार राष्ट्रपति भवन शीतलनिवासमा नेकपा (एकीकृत समाजवादी)का तर्फबाट सरकारमा सहभागी नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराउँदै । साथमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटा ।

       

काठमाण्डौं, २०७९ असार १३ गते सोमबार । नेकपा एकीकृत समाजवादी पार्टीको तर्फबाट नवनियुक्त चारजना मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिनु भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त चारजना मन्त्रीहरुले आज एक समारोहबीच पद तथा गोपनीयताको शपथ लिनुभएको हो । राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा नेकपा (एकीकृत समाजवादी) का तर्फबाट नवनियुक्त मन्त्रीहरूले शपथ लिनुभएको हो ।

नयाँ मन्त्रीहरूमा जीवनराम श्रेष्ठ-संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, मेटमणि चौधरी-सहरी विकास मन्त्रालय, भवानीप्रसाद खापुङ- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र शेरबहादुर कुँवर–श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय हुनुहुन्छ ।

राष्ट्रपति भण्डारीले मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७६ को उपधारा (९) तथा धारा ७८ को उपधारा (१) बमोजिम प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा चार मन्त्री र एक राज्यमन्त्रीको नियुक्ति र कार्य विभाजन तोक्नुभएको थियो ।

मन्त्रीहरूको शपथपछि शीतल निवासमै राष्ट्रपति भण्डारीको उपस्थितिमा प्रधानमन्त्री देउवासमक्ष नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हीराचन्द्र केसीले पद तथा गोपनीयताको शपथ लिनुभयो ।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, मन्त्रीगण, संवैधानिक निकायका प्रमुख र पदाधिकारीलगायतको उपस्थिति रहेको थियो । रासस

Facebook Comments