Tue. Dec 24th, 2024

काठमाण्डौं महानगरपालिकाका उपमेयर डंगोलद्वारा छत्रपाटी निःशुल्क चिकित्सालयको निरीक्षण

काठमाण्डौं, २०७९ असार ४ गते शनिबार । काठमाण्डौं महानगरपालिकाका उपमेयर सुनिता डंगोलले छत्रपाटी निःशुल्क चिकित्सालयको निरीक्षण गर्नुभएको छ । आज दिउसो सो चिकित्सालयको उत्सुकतापूर्वक निरीक्षण गर्नुहुँदै उपमेयर डंगोलले काठमाण्डौं महानगरभित्रका सबै सरकारी तथा सामुदायिक अस्पताललाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

क्षेत्रपाटी निःशुल्क चिकित्सालयमा रहेका विभिन्न उपचारकक्ष तथा अक्सिजन प्लान्ट अवलोकन गर्दै उपमेयर डंगोलले क्षत्रपाटी निःशुल्क चिकित्सालयले सरल र शुलभ रूपमा सर्वसाधारणलाई सेवा प्रवाह गरिरहेकोमा खुशी व्यक्त गर्नुभयो ।

कार्यक्रममा क्षत्रपाटी निःशुल्क चिकित्सालयका अध्यक्ष डा. मनोजमान श्रेष्ठले काठमाण्डौं महानगरपालिकाले विगतदेखि नै चिकित्सालयको स्तरोन्नती र प्राविधिक उपकरणको लागि सहयोग गर्दै आएको र आगामी दिनमा पनि आर्थिक भौतिक सहयोग जारी राख्ने विश्वास व्यक्त गर्नुभयो ।

अध्यक्ष श्रेष्ठले पछिल्लो समयमा महिलाहरुमा छातीको क्यान्सरको समस्या गम्भिररुपमा देखिएको जानकारी दिनुहुँदै काठमाण्डौं महानगरपालिकाले एउटा डिजिटल मेमोग्राम मेसिन उपलब्ध गराईदिए नाफा नराखि देशभरीकै महिलाहरुको उपचारअस्पतालले गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।

Facebook Comments