आज २५६६औं बुद्धजयन्ती, राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाद्वारा शुभकामना
काठमाण्डौ, २०७९ जेठ २ गते सोमबार । आज भगवान गौतमबुद्धको २५६६औं जन्मजयन्ती । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व आज भगवान् विष्णुको नवौं अवतारका रुपमा जन्म लिनुभएका सिद्धार्थ गौतमको पूजा आराधना प्रवचन गरी भव्य रुपमा देशैभर मनाइँदै छ ।
वैशाख शुक्ल पूर्णिमाका दिन गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाणको त्रि-संयोग पर्ने भएकाले यस दिन विश्वभरका बौद्ध धर्मावलम्बीहरूद्वारा गौतम बुद्धप्रति श्रद्धा एवं भक्तिभाव प्रकट गर्ने पवित्र दिवसका रूपमा बुद्ध जयन्ती मनाउने गरिन्छ ।
सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याउनु भएको योगदानको स्मरणस्वरुप यो पर्व मनाउने गरिएको हो । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् । “अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो”, यस्ता अनेकौँ कालजयी सन्देशका वाहक भगवान् गौतम बुद्धको २५६६औँ जयन्ती शान्तिको कामना गर्दै आज देशभर मनाउन लागिएको हो ।
बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा लामा एवं बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गरिन्छ । आम मानिसलाई बेलुकी घरमा दीपावली गरेर बुद्ध जयन्ती मनाउन सरकारले आह्वान गरेको छ ।
यस अवसरमा लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विविध कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाउने परम्परा छ । इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६६ वर्षअघि रुपन्देही जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो । राजकुमारका रुपमा जन्म लिनुभएका सिद्धार्थ गौतम मानिसले पाएका दुःख देखेर चिन्तित बन्नुभयो । २९ वर्षको उमेरमा दरबार छोडी तपस्याका लागि निस्कनुभयो ।
इसापूर्व ५२८ को वैशाख शुक्ल पूर्णिमाका दिन उहाँले बुद्धगयास्थित पीपलको रूख ९बोधिवृक्ष० मुनि बुद्धत्व प्राप्त गर्नुभयो । बुद्धत्व प्राप्त गरेपछि नै उहाँलाई गौतम बुद्ध, बुद्ध भगवान् आदि नामले पुकारिएको हो । दुःखलाई नाश गर्न तृष्णा क्षय गर्ने आठ मार्ग नै बुद्धले पाउनुभएको ज्ञान हो । सम्यक् सङ्कल्प, सम्यक् दृष्टि, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् आजीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति र सम्यक् समाधि यी आठ मार्ग हुन् भनी उहाँले ज्ञान बाँड्नुभएको थियो ।
यी ज्ञान पहिलोपटक सारनाथस्थित मृगदावनमा पञ्चवर्गीय भिक्षुहरूलाई प्रवचन (धर्मदेशना) का माध्यमबाट बाँड्नुभएको थियो । ४५ वर्षसम्म यस्तो ज्ञान बाँडेपछि ८० वर्षको उमेरमा इसापूर्व ४८३ मा वैशाख शुक्ल पूर्णिमाकै दिन कुशीनगरमा उहाँले महापरिनिर्वाण (मृत्यु) प्राप्त गर्नुभयो ।
विश्वजगत्मा शान्तिका अग्रदूत र एसियाका ताराका रुपमा भगवान् गौतम बुद्धलाई चिनिन्छ । बुद्धले आठ मार्गका माध्यमबाट शान्ति, अहिंसा, मैत्री र करुणाको शिक्षा आम मानिसलाई दिनुभयो । यसै कारण विश्वमा बुद्ध दर्शनले सम्प्रदाय वा पथको रुपधारण गरेको छ ।
वि.संं. २००८ साल जेठ ८ गते बुद्धजयन्तीका दिनदेखि यस पर्वका अवसरमा देशभर सार्वजनिक बिदा दिन थालिएको हो । वि.सं. २०१२ फागुन ७ गते लुम्बिनीमा बुद्धजयन्तीका दिन हत्या, हिंसामाथि प्रतिबन्धको घोषणा गरिएको थियो ।
विश्वशान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्मजयन्तीका दिन संयुक्त राष्ट्रसङ्घीय प्रणालीमा पनि सन् २००२ देखि सार्वजनिक बिदा दिइँदै आएको छ । हालसम्म विश्वका प्रकाशनमध्ये बुद्धसम्बन्धी सबैभन्दा बढी पुस्तक प्रकाशित भएको बताइन्छ ।
राष्ट्रपतिद्वारा २५६६औँ बुद्ध जयन्तीको शुभकामना
राष्ट्रपति विद्यादेवी भण्डारीले गौतम बुद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्दै धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भादव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गराई बृहत् राष्ट्रिय एकता निर्माण गर्ने बाटोमा सदैव अग्रसर रहन आह्वान गर्नुभएको छ ।
राष्ट्रपति भण्डरीले आज जारी गर्नुभएको शुभकामनामा विश्व शान्तिका अग्रदूत गौतम बुद्धको २५६६औँ जन्मजयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै उक्त आह्वान गर्नुभएको हो ।
“मुलुकभर छरिएका चैत्य, गुम्बा, विहार एवं बौद्ध धर्मसम्बन्धी सांस्कृतिक तथा पुरातात्विकस्थलहरूको उचित विकास र संरक्षणमा सम्बद्ध पक्षले विशेष ध्यान पु¥याउनु आवश्यक छ,” सन्देशमा भनिएको छ, “बुद्ध जन्मस्थल लुम्बिनीलाई विश्व शान्तिको केन्द्रका रूपमा विकास गर्ने सुदृढ राष्ट्रिय सङ्कल्पका लागि समेत आजको दिनले हामी सबैलाई प्रेरणा दिनेछ भन्ने मलाई लाग्दछ ।”
प्राचीन बौद्ध सभ्यताको उद्गमस्थल भएको हुनाले नेपालसमक्ष बौद्ध दर्शनसम्बन्धी अध्ययन र अनुसन्धानको संस्थागत विकास गर्ने ठूलो अवसर विद्यमान हुँदा समुचित उपयोग गर्नुपर्ने उहाँको भनाइ छ ।
“बुद्धका उपदेशको पालना एवं अनुसरण गरी हरेक व्यक्ति, समाज र विश्व समुदायका बीचमा शान्ति, सहअस्तित्व, सहिष्णुता र पारस्परिक सम्मान थप सुदृढ गर्दै लैजान सकिन्छ,” सन्देशमा भनिएको छ, “समकालीन विश्वमा गौतम बुद्धद्वारा प्रतिपादित शान्ति र अहिंसासम्बन्धी दर्शनको सान्दर्भिकता अझ बढ्न गएको छ ।”
सम्पूर्ण मानव सभ्यतालाई शान्ति र अहिंसाको मार्गदर्शन गर्ने गौतम बुद्धको जन्मभूमि नेपाल हुनु हामी सबैका लागि गौरवको विषय भएको र आत्मचिन्तन, जीवनको भोगाइ अनि अनुभवबाट प्राप्त ज्ञानलाई विशिष्ट दर्शनका रूपमा विकास गरी मानवीय दःख निवारणको बाटो पहिल्याउने द्रष्टाका रूपमा गौतम बुद्धको अद्वितीय स्थान रहेको सन्देशमा छ । नेपाली भूखण्डमा प्राचीनकालदेखि नै ज्ञान र चिन्तन परम्पराको उच्चस्थान रहेको तथ्यलाई बुद्धका विचारले स्पष्ट परेको बताइएको छ ।
२५६६औँ बुद्धजयन्तीमा प्रधानमन्त्रीकाे शुभकामना
प्रधानमन्त्री शेरबहादुर देउवाले बुद्धजयन्तीका अवसरमा विश्वमा शान्ति, अहिंसा, सहअस्तित्व, सहिष्णुता, भ्रातृत्व र विश्व बन्धुत्वको भावना प्रवद्र्धन होस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा २५६६औँ बुद्ध जयन्तीका अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा समग्र मानव समुदायमा एकता र पारस्परिक सम्मान अभिवृद्धि गर्न सबैलाई उत्प्रेरणा प्रदान गरोस् भन्ने कामनाका साथ सबैमा शुभकामना व्यक्त गर्नुभएको छ ।
सन्देशमा भनिएको छ, “विश्वमा शान्ति, अहिंसा र करुणाको सन्देश फैलाउने शान्तिका अग्रदूत गौतम बुद्धको २५६६औँ जन्मजयन्तीको पुनीत अवसरमा म स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली तथा बौद्ध धर्मावलम्बी समुदायमा सुख, शान्ति र प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।”
वैशाख शुक्ल पूर्णिमा गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाणजस्ता तीनवटा महत्तवपूर्ण घटनाहरू घटेको पवित्र दिनका रूपमा प्रसिद्ध भएको र यस दिनले परापूर्वकालदेखि नै शान्ति, अहिंसा, सद्भाव, दया, करुणा र आत्मबोधको मार्गतर्फ अघि बढ्न उत्प्रेरित गर्दै आएको सन्देशमा छ ।
“गौतम बुद्ध नेपालका राष्ट्रिय विभूति हुन, उनको शिक्षा र उपदेश समग्र मानव समुदायका लागि अहिले पनि उत्तिकै सान्दर्भिक, उपयोगी र शाश्वत रहेका छन,” सन्देशमा भनिएको छ, “भगवान् बुद्धले दुःख र शोकबाट मुक्ति हुनका लागि उपदेश गर्नुभएको चार आर्य सत्य र आर्य अष्टाङ्गिक मार्ग सबै पिँढीका मानव मात्रका लागि उपयोगी र अवलम्बनीय उपायका रूपमा रहेका छन ।” सन्देशमा बुद्धको शिक्षा र सन्देशलाई व्यावहारिक जीवनमा उतारी जीवनलाई सुखमय र शान्तिमय बनाउन सक्नुपर्ने उल्लेख छ ।