Tue. Dec 24th, 2024

प्रधानमन्त्री देउवा भन्नुहुन्छ, “गठबन्धन टुटाउने षड्यन्त्र भएको छ”

काठमाण्डौ, २०७९ बैशाख २२ गते बिहीबार । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन टुटाउने षड्यन्त्र भएको बताउनुभएको छ। पाँच दलीय गठबन्धनले बिहीबार चितवनमा आयोजना गरेको विशाल आमसभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो।

उहाँले भन्नुभयो, ‘‘गठबन्धन टुटाउने षड्यन्त्र भएको छ, यो षड्यन्त्रबाट हाम्रो पार्टी खत्तम हुन्छ, उहाँहरुको पनि खत्तम हुन्छ। कुनै पनि हालतमा गठबन्धन टुटाउने षड्यन्त्र भरतपुर र चितवनबाट हुन सक्दैन र हुनु हुँदैन।”

भरतपुर महानगरपालिकामा गठबन्धनबाट उम्मेदवार बन्नुभएका प्रमुख पदका उम्मेदवार रेनु दाहालले अघिल्लो  कार्यकालमा महत्वपूर्ण काम गरेको भन्दै गठबन्धनका पक्षमा लाग्न उहाँले आह्वान गर्नुभयो।

 उहाँले भन्नुभयो, “उहाँलाई जिताउनुहोस्, १०/२० वर्ष गठबन्धन टिक्छ। उहाँले जितिसक्नुभएको छ, पार्टीका केही साथीहरुले बखेडा गर्नु आवश्यक छैन।”

सभापति देउवाले चितवन कांग्रेसले गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, “चितवनका साथीहरुको कर्तव्य छ। रेनु दाहाललाई सहयोग गर्नुपर्छ। ठाउँठाउँमा कालोपत्रे भएको छ। यहाँको भाउ बढेको छ। स्मार्टसिटी बनाउने भन्नुभएको छ ?”

भरतपुरमै अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, अन्तर्राष्ट्रियस्तरको सभाहल र विमानस्थल दाहालको पहलमा बन्न लागेको भन्दै उहाँले विकासप्रेमी नेतालाई जिताउनुपर्नेमा जोड दिनुभयो। रासस

Facebook Comments