Sat. Sep 21st, 2024

उत्तर कोरियाका नेता किम जङ अनद्वारा परमाणुअस्त्र कार्यक्रम अझै बलियो बनाउने घोषणा

काठमाण्डौ, २०७९ बैशाख १३ गते मंगलबार । उत्तर कोरियाका नेता किम जङ-अनले आफ्नो देशले परमाणुअस्त्रको सङ्ख्या बढाउने उद्घोष गर्नुभएको छ ।

सोमवार राति आयोजित एउटा सैन्य परेडमा सम्बोधन गर्दै उहाँले आफ्नो परमाणु कार्यक्रम र अस्त्रभण्डार अझ बलियो बनाउने घोषणा गर्नुभएको हो ।

उत्तर कोरियाली सेनाको ९०औँ स्थापना दिवसको अवसरमा आयोजित उक्त परेडमा प्रतिबन्धित अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्र आईसीबीएम पनि प्रदर्शन गरिएको थियो।

गत मार्च महिनामा उत्तर कोरियाले सन् २०१७ यता सबैभन्दा ठूलो आईसीबीएम परीक्षण गरेको थियो। अन्तर्राष्ट्रिय समुदायले उक्त परीक्षणको व्यापक आलोचना तथा निन्दा गरेको थियो। उक्त परीक्षणपछि संयुक्त राज्य अमेरिकाले उत्तर कोरियाविरुद्ध थप प्रतिबन्ध घोषणा गर्‍यो। परमाणुअस्त्र बोक्न सक्नेगरी बनाइएका ती क्षेप्यास्त्रको मार हान्न सक्ने क्षमता संयुक्त राज्य अमेरिकासम्म छ।

सोमवारको परेडमा ध्वनिको गतिभन्दा तीव्र गतिमा प्रहार गरिने हाइपरसोनिक क्षेप्यास्त्र तथा पनडुब्बीबाट प्रहार गरिने बलिस्टिक क्षेप्यास्त्रहरू पनि प्रदर्शन गरिएका थिए। बीबीसी

Facebook Comments