Sat. Apr 20th, 2024

शिक्षालाई गुणस्तरीय बनाउनपर्नेमा राष्ट्रपति भण्डारीको जोड

काठमाण्डौं, २०७८ चैत २० गते आईतबार । राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षालाई गुणस्तरीय बनाउनपर्नेमा जोड दिनु भएको छ । मुलुकले ठूलो धनराशि शिक्षा क्षेत्रमा खर्च गरेको भन्दै यसलाई उपलब्धिमूलक बनाउनुपर्नेमा भण्डारीले जोड दिनुभएको हो ।

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका-४ मा आज नवनिर्मित थाङपाल भ्याली माध्यमिक विद्यालय भवनको उद्घाटन कार्यक्रममा उहाँले भूकम्पले क्षति गरेका चार विद्यालय एकीकृत गरी सञ्चालनमा आएको विद्यालयले गुणस्तरीय शिक्षामा ध्यान दिने विश्वास व्यक्त गर्नुभयो । भूकम्प, बाढी, कोरोनाबीच पनि विद्यालय भवन निमार्ण सम्पन्न गरेकामा उहाँले खुसी व्यक्त गर्नुभयो ।

विद्यालय भवनसँगै अब पढाइ पनि गुणस्तरीय बनाउनपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले विश्वमा जलवायु परिवर्तनले सङ्कटको रूप लिइरहँदा त्यसको प्रत्यक्ष असर र चुनौती नेपालका हिमशृृङ्खला तथा अग्ला पहाडमा देखा पर्न थालेको बताउनुभयो । जलवायु परिवर्तनका कारण पहाडमा हिउँ नपर्ने, हिमताल फुट्ने, अप्रत्याशित बाढीपहिरो जस्ता प्राकृतिक विपत्तिहरु निम्तिन थालेकोप्रति चिन्ता व्यक्त गर्दै जलवायु अनुकूलन योजना बनाई त्यसअनुसार अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले यस्तो खालको संरचनाले भविष्यमा शिक्षा क्षेत्रको विकास गरी गुणस्तरीय शिक्षा प्रदान गर्न सहज हुने बताउनुभयो । सरकारी विद्यालयलाई भौतिक तथा शैक्षिक विकास गर्न सरकार प्रतिबद्ध रहेको उहाँको भनाइ थियो । सरकारी विद्यालयमा गुणस्तरीय शिक्षा हुँदैन भन्ने भ्रमलाई चिर्नुपर्नेमा उहाँले जोड दिनुभयो । सिन्धुपाल्चोक क्षेत्र नं २ का सांसद तथा पूर्वमन्त्री शेरबहादुर तामाङले राजनीति फरक पाटो भएकाले विकासका काममा सबै एक भएर लाग्नुपर्ने बताउनुभयो ।

शिक्षा सचिव यादवप्रसाद कोइरालाले यो अभ्यासको अरूले पनि अनुसरण गरेमा अझै प्रभावकारी हुने धारणा राख्नुभयो । एसियाली विकास बैंक (एडीबी) को रु २४ करोड सहयोगमा बनेको विद्यालयमा दुई हजार विद्यार्थी पुर्‍याउने गाउँपालिकाको योजना रहेको गाउँपालिकाका अध्यक्ष टासी लामाले बताउनुभयो । शिक्षा क्षेत्रको गुणस्तर वृद्धि गर्नुका साथै विद्यालयलाई प्रविधिमैत्री बनाई गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालय एक कोसेढुङ्गा भएको उहाँले बताउनुभयो ।

बागमती प्रदेशभित्र बृहत् विद्यालयका रूपमा सञ्चालनमा आउने थाङपाल भ्याली मावि प्रदेशभित्रकै दोस्रो सामुदायिक विद्यालय भएको छ । अहिले विद्यालयको सुविधा सम्पन्न पाँच वटा भवन निमार्ण सम्पन्न भएको छ । गुणस्तरीय र प्राविधिक शिक्षालाई प्राथमिकता दिँदै गाउँपालिकाले चार वटा विद्यालयलाई गाभेर १२ कक्षासम्म सञ्चालन गर्ने गरी थाङपाल भ्याली मावि विद्यालय बनाएको हो ।

प्राकृतिक रूपमा सुन्दर तर भूगोलको हिसाबले विकट यो विद्यालयमा कम्प्युटर ल्याब, क्यान्टिन, होस्टलको व्यवस्था, बालमैत्री संरचना, स्कुल बसको व्यवस्था रहेको छ । गाउँपालिका र वडाको सहकार्यमा २६ रोपनी जग्गा व्यवस्था गरी ५४ कोठे विद्यालय भवन निर्माण भएको पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष लामाले बताउनुभयो । विद्यार्थी, शिक्षक र आवश्यक स्रोतको उचित समायोजनमा सहजताका साथै समयसापेक्ष शिक्षा प्रणालीमा ग्रामीण भेगका विद्यार्थीको पनि पहुँच पुर्‍याउने उद्देश्य रहेको लामाको भनाइ छ । ग्रामीण भेगमा शिक्षाको गुणस्तर वृद्धि हुने देखिएपछि विद्यार्थीसँगै अभिभावक पनि खुसी भएका छन् ।

पाँचपोखरी थाङपाल गाउँपालिकाले आफ्नै पाठ्यक्रम ‘मेरो पाँचपोखरी’ तयार पारेर पठनपाठन सुरु गरेको छ । कक्षा १ देखि ८ सम्मको पाठ्यक्रम गाउँपालिका आफैँले तयार गरी पठनपाठन सुरु गरेको हो । जिल्लाको दुर्गम भेग पाँचपोखरी थाङपाल गाउँपालिकाले आफ्नै स्थानीय पाठ्यक्रमसहितको पाठ्यपुस्तक सञ्चालनमा ल्याएको छ । नेपाल टेलिभिजन

Facebook Comments