Sun. Nov 24th, 2024

“वैचारिक मतभेदका कारण टुक्रिने र पदीय स्वार्थपूर्तिकालागि एकाकार हुने गतिशील अवस्था आए, त्यसले नराम्रो नेतृत्व उत्पादन गर्छ”

- काजीराम गौतम

काठमाण्डौं, २०७८ चैत १९ गते शनिबार ।

✍️ काजीराम गौतम

नेता आफ्नो शक्तिका कारण होइन, बरू अरूलाई सशक्त बनाउन सक्ने आफ्नो क्षमताका कारण महान बन्छन भन्ने अमेरिकी लेखक जोन म्याक्सवेलको भनाई आज पनि उक्तिकै महत्वपूर्ण छ।

यथार्थमा नेतृत्वकर्तामा आफ्नो समूह भित्रका हर एक एकाइमा सशक्तिकरण गरी उनीहरूलाई आवश्यकता अनुसार रूपान्तरण गर्न सक्ने क्षमता हुनै पर्छ, जुन क्षमता यदाकदा प्राप्त हुने पदसोपानको उच्चताले प्रतिनिधित्व गर्न वा प्रस्ट्याउन सक्दैन।

लोकतन्त्रमा वैचारिक भिन्नताका कारण विभिन्न विचार समूहहरू हुनु स्वाभाविक हो, तर त्यसको नेतृत्वमा पद प्राप्तिको विषयलाई बढी महत्व दिई विचारलाई कम महत्व दिइयो भने परिणाम व्यूत्क्रमानुपाती बन्छ। अझ, विचार समूहहरू वैचारिक मतभेदका कारण टुक्रिने र पदीय स्वार्थपूर्तिकालागि एकाकार हुने गतिशील अवस्था आए, त्यसले नराम्रो नेतृत्व उत्पादन गर्न पुग्छ, जुन पछिल्लो समयमा हाम्रो यथार्थ बनेको छ।

सबै विचार समूहलाई समेटेर एकाकार बनाउने नाममा होस वा नयाँ समूह निर्माणका क्रममा होस, वैचारिक उत्कृष्टता र सामाजिक रूपमा सशक्तता भएका वा नभएका दुबैखाले पात्रहरू पदीय सोपानमा आरोही वा अवरोही बनेर अडिएका छन। सरसर्ती बर्बरीक दृष्टिले उक्त सोपानमा नजर पुर्याउने हो भने एकाध बाहेक कुशल नेतृत्वसीप अरूमा किमार्थ दृष्टिगोचर हुदैन। झुण्ड विकासकालागि सोपानको खुड्किलो उक्लिने र ओर्लिनेको त्यहाँ आफ्नै महत्व होला तर त्यसले समाजको उन्नतिकालागि अवश्य अवरोध वा अल्झन सिर्जना गर्छ।

लोकतन्त्रमा वैचारिक भिन्नताका कारण विभिन्न विचार समूहहरू हुनु स्वाभाविक हो, तर त्यसको नेतृत्वमा पद प्राप्तिको विषयलाई बढी महत्व दिई विचारलाई कम महत्व दिइयो भने परिणाम व्यूत्क्रमानुपाती बन्छ। अझ, विचार समूहहरू वैचारिक मतभेदका कारण टुक्रिने र पदीय स्वार्थपूर्तिकालागि एकाकार हुने गतिशील अवस्था आए, त्यसले नराम्रो नेतृत्व उत्पादन गर्न पुग्छ, जुन पछिल्लो समयमा हाम्रो यथार्थ बनेको छ।

समाज कुनै एउटा झुण्ड होइन र यो स्थिर वा यथास्थितिमा बसिरहँदैन। यसलाई हाँक्नको लागि डाइनामिक नेतृत्व चाहिन्छ। तर समाजको नेतृत्व गर्ने बेलामा वा जनताको प्रतिनिधित्व गर्ने मनसाय जागृत भएर आएका बेला धेरैले त्यो अवसर आँफू झुण्डको सोपानमा माथि भएको हुनाले आफैंमाथि आइपरेको ठान्छन, जुन समाजले भोग्नु परेको झुण्डबाट प्रतिपादित घातक विचार हो। हामी अहिले यही विचारबाट आहत भएका छौं।

नजिक आउँदै गरेको स्थानीय निकायको निर्वाचनमा आफ्नो उम्मेदवारीलाई अघि सार्न धेरैले आफ्नो झुण्डमा आँफूले प्राप्त गरेको पदसोपानको दर्जालाई नै आफ्नो योग्यता र सशक्त क्षमताको रूपमा प्रस्तुत गर्न थालेको आभास हुन्छ। के उक्त पदसोपानको उच्च दर्जा प्राप्त गर्न उनीहरूलाई योग्यता वा क्षमताले नै साथ दिएको हो? सबैले हो भन्न सक्ने स्थिति पनि छैन। यदि होइन भने, दर्जा अघि सार्नु कत्तिको उपयुक्त हुन्छ वा गतिशील समाजको नेतृत्व गर्न निजहरूमा पोटेन्सियल वा काइनेटिक उर्जा हुनु पर्छ कि पर्दैन? यी विषयहरू अब मत प्राप्त गर्ने र मत दिने बीच दुवैका साझा सवालका विषय बन्नु पर्छ। हुन त पोटेन्सियल उर्जा हेर्दा फ्याट्ट देखिन्न। यो शिरमाथि झुन्ड्याइएको तरबार जस्तै हुन्छ। यसको शक्ति आकलन गर्न सकिन्छ तर काइनेटिक उर्जा गतिशील हुनेहुनाले हेरेरै अनुमान गर्न सकिन्छ। यस्ता उर्जाले युक्त नेतृत्वले सोपानको खुट्किलामा आफ्नो स्थान कहाँ छ भनेर देखाइरहनु पर्दैन।

सक्षम र सचेत नागरिकले अब यस्तो कुरा घ्राणेन्द्रियबाटै पहिचान गर्न सक्छन। त्यसैले योग्य र कर्मठ नेतृत्व चयन गर्नकालागि जनताले आफ्नो अधिकार प्रयोग गर्नु अगावै नेतृत्वले पनि आफ्ना प्रतिनिधिमा यथोचित योग्यता र क्षमता भए नभएको यकिन गर्नु पर्छ, अमरशक्तिको जस्तो।

अमरशक्ति पञ्चतन्त्रमा वर्णन गरिएका एक कुशल राजा हुन। उनका बहुशक्ति, उग्रशक्ति र अनन्तशक्ति नामका तीन बेकुफ पुत्रहरू थिए। राजाका पुत्रहरू भएपनि ती राजकुमारमा नेतृत्व दिने क्षमता थिएन। त्यस कारण राजा चिन्तित थिए। उनले एक जना विष्णु शर्मा नाम गरेका योग्य ब्राह्मणलाई आफ्ना छोरा सुम्पिए, यथोचित ज्ञान प्रदान गर्नकालागि। राजाको आदेश अनुसार राजकुमारहरूले गुरूका सामुन्ने आफ्नो राजकीय ठाँट नदेखाइ शिक्षा ग्रहण गरे र आफू योग्य बने। त्यो बेला उनीहरूले सिकेको ज्ञान उनीहरूका जीवनमा व्यावहारिक ज्ञान थियो, हालका पार्टीहरूको स्कूलिङ जस्तै। स्कूलिङ बिनाको कार्यकर्ता अमरशक्तिका छोरा जस्तै हुन्छन। उनीहरूमा मानसिक रूपान्तरण पनि भएको हुन्न, साथै पदीय घमण्ड पनि ताजै हुन्छ। तसर्थ नेतृत्व हस्तान्तरण गर्नेले नव नेतृत्वलाई सशक्त बनाएर अघि सार्नु पर्छ, नकि पदीय सोपानको उच्चता देखाएर।

आफ्ना उत्तराधिकारीलाई योग्यताको कसीमा जाँच्नै हाम्रो बानी छैन। तर गहिरिएर अध्ययन गर्ने हो भने कालिदासको अभिज्ञानशाकुन्तलमका मुख्य पात्र दुष्यन्त र शकुन्तलाका पुत्र अथवा महाभारतका कुरूवंशीहरूका पूर्वज राजा भरतले आफ्ना राजकुमारहरू आफ्नो उत्तराधिकारी हुन योग्य नरहेको निहुँमा राज्यको उत्तराधिकार भारद्वाज ऋषिलाई सुम्पेको कथा पनि एउटा रोचक तर यथार्थ नैतिक शिक्षा बन्न सक्छ हाम्रो नेतृत्वलाई।

यो रोचक घटनाले बिना क्षमता पदीय सोपानको खुड्किला उक्लिएका नव नेतृत्वका आकाङ्क्षी र आफ्नो प्रतिनिधिको छनोटमा अधिकार सम्पन्न आम जनमानसलाई अवश्य घचघच्याउने छ।
(काजीराम गौतम, जनकल्याण मा वि, कानेपोखरी-७, मोरङका शिक्षक हुनुहुन्छ ।)

Facebook Comments