Sun. May 5th, 2024

एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डको वर्ष पुरुष र महिला खेलाडीको मनोनयन सार्वजनिक

काठमाण्डौं, २०७८ चैत १९ गते शनिबार । ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७८’ को बर्ष खेलाडीको मनोनयन सार्वजनिक भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीको आयोजना हुने एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डको वर्ष पुरुष खेलाडी र वर्ष महिला खेलाडीको मनोनयन सार्वजनिक गरिएको हो ।

अवार्डको वर्ष पुरुष खेलाडीको मनोनयनमा क्रिकेटका दिपेन्द्र सिंह ऐरी, ब्याडमिन्टनका प्रिन्स दाहाल, र फुटबलका टेकेन्द्र थापा पर्नु भएको छ । यस्तै महिलातर्फ फुटबलकी उषा नाथ, भलिबलकी सरस्वती चौधरी र एथलेटिक्सकी राजपुरा पछाई मनोनित हुनु भएको छ ।

पुरुष तर्फ मनोनयनमा परेका प्रिन्स जुनियरतर्फको विश्व वरीयतामा १ नम्बरमा रहनु भएको छ । दिपेन्द्र अन्तर्राष्ट्रिय ट्वान्टी-२० क्रिकेटमा सर्वाधिक रन बनाउने नेपाली खेलाडी ब्याटर हुनु हुन्छ । जावलाखेल युथ क्लबकाट ए डिभिजन लिग खेल्दै आउनु भएका टिकेन्द्र थापाले हालै अन्तराष्ट्रिय डेब्यु गर्नु भएको थियो ।

महिलातर्फ मनोनयनमा पर्नु भएकी सरस्वतीले नेपाली महिला भलिबल टोलीले बंगलादेशमा सेन्ट्रल जोन भलिबलमा स्वर्ण जित्दा उत्कृष्ट प्रदर्शन गर्नु भएको थियो । उमेर समुह हुदैं नेपाली महिला फुटबल टोलीमा स्थान बनाउन सफल उषा राष्ट्रिय महिला लिगको उत्कृष्ट गोलरक्षक बन्नु भएको थियो । १५औं र १६औं संस्करणको पोखरा म्याराथनको उपाधि जित्नु भएकी एथलेटिक्सकी राजपुराले भारतको नागाल्यान्डमा भएको साफ क्रस कन्ट्री दौडमा रजत पदक हासिल गर्नु भएको थियो ।

विभिन्न ८ विधामा दिइने अवार्डको तेस्रो संस्करणको तयारी तिव्र रुपमा भइरहेको छ अवार्डमा उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुषलाई सम्मानित गरिने छ । उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५-३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफ टाइम एचिभमेन्ट अवार्डका विजेतालाई २५-२५ हजार नगदबाट पुरस्कृत गरिने छ यस्तै सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

Facebook Comments