Mon. Dec 23rd, 2024

अर्थमन्त्री शर्माद्वारा नेप्सेको समस्या समाधान गर्न निर्देशन

काठमाण्डौं, २०७८ चैत ७ गते सोमबार । अर्थमन्त्री जनार्दन शर्माले केही दिनअघि नेप्से बन्द भएको विषयमा आफ्नो ध्यानाकर्षण भएको बताउनु भएको छ । दोस्रो त्रैमासिक समीक्षा बैठकमा मन्त्री शर्माले त्यसको तत्काल छानबिन गर्न र समस्या दोहोरिन नदिन धितोपत्र बोर्ड र नेप्सेका अधिकारीहरूलाई निर्देशन दिनुभयो ।

“केही दिनअघि नेप्से बन्द भएको कुरा गम्भीर हो । यो सामान्य विषय होइन, त्यसैले अहिलेको नेतृत्वले यो समस्या समाधान गरोस् । यो प्राविधिक विषय मात्र होइन जस्तो लाग्छ । यसले समग्र पुँजी बजारलाई नै असर गरेको छ,” मन्त्री शर्माले भन्नुभयो ।

राजस्व सचिव कृष्णहरि पुष्करले पनि सेयर बजार बन्द भएको विषयमा जनताले दोषी थाहा पाउने गरी छानबिन गर्न निर्देशन दिनुभयो । सोमबार धितोपत्र दलाल व्यवसायी ९ब्रोकर०को डेटा सेन्टरमा समस्या आएका कारण कारोबार सुरु भएको १ घन्टा ५३ मिनेटपछि सेयर कारोबार हुन सकेको थिएन । ब्रोकरहरुले सामूहिक रुपमा सञ्चालन गरेको टीएमएस सिस्टममा समस्या देखिएपछि दिनभर रिकभर नभएका काण कारोबार ठप्प भएको थियो ।
नियामक निकाय नेपाल धितोपत्र बोर्डको लाचारी तथा कानुन निर्माणमा ढिलाइका कारण पनि लगानीकर्तामाथि अन्याय भएको थियो । हाल सञ्चालित ५० वटा ब्रोकरमध्ये करिब १५ वटाले मात्रै व्यक्तिगत रुपमा डेटा सेन्टर सञ्चालन गरिरहेका छन् । बाँकी ब्रोकर कम्पनीले संयुक्त रुपमा सेयरिङ मोडेलमा डेटा सेन्टर सञ्चालन गरिरहेका छन् । जसका कारण ३० वटा ब्रोकरको टीएमएसमा समस्या देखिएपछि कारोबार बन्द भएको थियो ।

नेप्सेले २०७५ वैशाखमा ब्रोकरहरुलाई आफ्नै डेटा सेन्टर राख्न निर्देशन दिएको थियो । तर, केही ब्रोकरहरुले छुट्टाछुट्टै सर्भर सञ्चालन गर्दा बढी लागत पर्ने भएपछि सामूहिक रुपमा डेटा सेन्टर प्रयोग गर्दै आएका खवर कारोबार अनलाईनले लेखेको छ ।

Facebook Comments