Mon. May 20th, 2024

चीनमा १३२ जना यात्रु बोकेको विमान दुर्घटना, यात्रुहरुको अवस्था अज्ञात

काठमाण्डौं, २०७८ चैत ७ गते सोमबार । चीनमा १ सय ३२ जना यात्रु बोकेको चाइना इस्टर्न एयरलाइन्सको ७३७ वोईङ विमान दुर्घटनाग्रस्त भएको छ ।

चाईना मिडिया ग्रुपका अनुसार आज दिउसो २ बजेर ३८ मिनेटमा चाइना इस्टर्न एयरलाइन्सको उडान नम्वर एमयु ५७३५ को विमान चीनको खुनमिङबाट क्वाङचौं उडानमा रहँदा क्वाङ सी च्वाङ स्वायत्त प्रदेशमा सम्पर्कविहिन भएर दुर्घटनाग्रस्त भएको हो । सो विमानमा १ सय २३ जना यात्रु र ९ जना चालकदलका सदस्यहरु थिए।

दुर्घटना लगत्तै चीनका राष्ट्राध्यक्ष सी चिनफिङले महत्वपूर्ण निर्देशन दिँदै तुरुन्तै आपतकालीन व्यवस्थापन सेवा सुरू गरेर सक्दो प्रयासमा खोज तथा उद्धार गर्न आग्रह गर्नुभएको थियो ।

प्रधानमन्त्री ली खछ्याङले सक्दो प्रयासमा बाँचेकाहरुको खोजी गर्नुका साथै घाइतेको उपचार गरी पीडितका परिवारलाई राम्ररी सान्त्वना र सेवा दिन  निर्देशन दिनुभएको छ। साथै समयमै सूचना प्रकाशित गरेर गम्भीरताका साथ दुर्घटनाको कारण पहिचान गरी नागरिक उड्डयन सुरक्षा व्यवस्थापनलाई सुदृढ गर्न आग्रह गर्नुभएको छ।

चिनियाँ नागरिक उड्डयन प्रशासन, आपतकालिन व्यवस्थापन मन्त्रालय र अन्य सम्बन्धित विभागहरूले घटनास्थलमा कार्यदल पठाउनुका साथै क्वाङ तुङ र क्वाङ सीबाट उद्धारकर्मीहरूलाई पठाएका छन्। हाल घटनास्थलमा उद्धार र दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ। समयमै दुर्घटनास्थलमा उद्धारकर्मीहरु पुगेका भए पनि  यात्रुहरुको बारेमा भने अहिलेसम्म कुनै जानकारी प्राप्त भएको छैन ।

दुर्घटनाग्रस्त पहाडी वनक्षेत्रमा डरलाग्दो आगो लागेको भिडियो चिनियाँ सञ्चार माध्यमहरुले सार्वजनिक गरेका छन् । पहाडी क्षेत्रमा भएको सो डरलाग्दो दुर्घटनामा परी अधिकांशको मृत्यु भएको हुनसक्ने आंकलन गरिएको छ ।

चिनियाँ एयरलाइन्सको सामान्यतया राम्रो सुरक्षा रेकर्ड छ । यसअघि पछिल्लो ठूलो दुर्घटना १२ वर्ष पहिले भएको थियो।

Facebook Comments