Fri. May 3rd, 2024

मोरङको लेटाङमा स्थानियको आक्रमणमा महिला प्रहरीको मृत्यु

काठमाण्डौं, २०७८ चैत ७ गते सोमबार । मोरङ जिल्लाको लेटाङमा स्थानियको आक्रमणमा एकजना महिला प्रहरीको मृत्यु भएको छ ।

लेटाङ-५ स्थित स्थानीय शिक्षा विकास मा.वि.का एक शिक्षकले छात्रालाई यौन दुर्व्यवहारको प्रयास गरेको विषयमा भएको सर्वपक्षीय छलफलमा भिडको आक्रमणमा परि प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको हो । उपचारको लागि विराटनगर लैजाँदै गर्दा श्रेष्ठको बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

शुक्रवार होली खेल्ने क्रममा घर पुगेका शिक्षकले आफूलाई यौन दुर्व्यवहार गरेको १२ वर्षीया छात्राले बताएपछि हिजो आईतबार विद्यालयमा यसबारे छलफल भएको थियो । छलफल भइरहँदा स्थानीयले शिक्षकलाई बन्दी बनाएर आक्रमणको प्रयास गरेपछि प्रहरी परिचालन गरिएको थियो ।

आक्रोशित स्थानीय बासिन्दाले प्रहरीमाथि नै आक्रमण गरेको र आक्रमणमा परेर प्रहरी जवान श्रेष्ठको मृत्यु भएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताउनुभयो । उहाँका अनुसार अरु केही प्रहरी घाइते भएका छन् ।

आक्रोशित भिडलाई नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रु ग्यास र हवाई फायर गरेको थियो । अहिले स्थिति नियन्त्रणमा आएको र लेटाङ आसपासका क्षेत्रमा बिहान ७ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु लगाइएको प्रमुख जिल्ला अधिकारी दाहालले जानकारी दिनुभयो । घटनाको थप अनुसन्धान भइरहेको उहाँले बताउनुभएको खवर उज्यालो अनलाईनले लेखेको छ ।

Facebook Comments