Fri. May 3rd, 2024

थाइल्याण्ड जाने नेपाली राष्ट्रिय फुटबल टिमको बिदाइ

काठमाण्डौं, २०७८ चैत ६ गते आईतबार । मैत्रीपूर्ण खेलका लागि थाइल्याण्ड जाने नेपाली राष्ट्रिय फुटबल टिमको बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार नेपाली टोलीलाई बिदाइ गरेको हो । नेपाली टोली सोमबार थाइल्याण्ड प्रस्थान गर्नेछन् ।

नेपालले थाइल्याण्डमा दुई मैत्रीपूर्ण खेल खेल्नेछ । नेपालले थाइल्याण्डसँग मार्च २४ मा खेल्नेछ । यस्तै नेपालले थाइल्याण्डको क्लब चोनबरी एफसीसँग पनि मैत्रीपूर्ण खेल खेल्नेछ । सो खेल मार्च २७ मा हुनेछ ।

एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेल अघि नेपालले थाइल्याण्डसँग खेल्न लागेको हो । छनोटमा नेपाल समूह ’ए’ मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् ।

नेपालको समूहको छनोट खेलहरु कुवेतमा आयोजना हुनेछ । एएफसीले छनोटमा सहभागी २४ टोलीलाई ६ समूहमा विभाजन गरेको हो । हरेक समूहका शीर्ष टोली र ५ समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एसियन कप २०२३ मा छनोट हुने छन् ।

छनोट खेलहरु जुन ८ देखि १४ सम्म हुनेछ । नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको सुरुआत गर्नेछ । दोस्रो खेलमा नेपालले जुन ११ मा कुवेतको सामना गर्नेछ । नेपालले जुन १४ मा इन्डोनेसियाविरुद्ध खेल्नेछ ।

Facebook Comments