Sun. May 5th, 2024

काठमाण्डौं उपत्यकामा थप पाँच ठाउँमा फोहोर पानी प्रशोधन केन्द्रको निर्माण तीव्र

काठमाण्डौं, २०७८ चैत ५ गते शनिबार ।  उपत्यकाका नदी र खोलाहरूलाई सफा बनाउने उद्देश्यले फोहोर पानी प्रशोधन केन्द्र निर्माण तीव्र पारिएको छ । गुह्येश्वरी फोहोर पानी प्रशोधन केन्द्रको निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ । थप पाँच ठाउँमा प्रशोधन केन्द्र निर्माण हुँदैछ । अहिले सञ्चालनमा रहेका र निर्माणाधीन प्रशोधन केन्द्रहरूको प्रतिदिन १० करोड ५० लाख लिटर फोहोर पानी प्रशोधन गर्ने क्षमता छ ।

घरबाट निस्कने फोहोर पानी (ब्लैक वाटर) खोलाको छेउमा निर्माण गरिएका ढलमार्फत प्रशोधन केन्द्रमा सङ्कलन गरी त्यहाँबाट प्रशोधन गरेर पुनः खोलामा प्रवाह गरिन्छ । काठमाडौँ उपत्यकामा खानेपानीको प्रयोगपछि झन्डै ८० प्रतिशत पानी फोहोर पानीका रूपमा उत्सर्जन भई नदी तथा खोलामा मिसिने गर्छ । गुह्येश्वरी फोहोर पानी प्रशोधन केन्द्रमा दैनिक तीन करोड २४ लाख लिटर फोहोर पानी प्रशोधन गरी बागमती नदीमा प्रवाह भइरहेको छ । अन्य केन्द्रहरूको निर्माण प्रक्रिया तीव्र गतिमा अगाडि बढिरहेको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) अन्तर्गतको आयोजना कार्यान्वयन एकाइले जनाएको छ ।

आयोजना कार्यान्वयन एकाइका उपनिर्देशक तथा प्रवक्ता लोकेन्द्र यादवले धोवीघाटको फोहोर पानी प्रशोधन केन्द्रको भौतिक पूर्वाधार निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । धोवीघाटमा दुईवटा प्रशोधन केन्द्र निर्माण भइरहेका छन् । यी केन्द्रले दैनिक सात करोड ४० लाख फोहोर पानी प्रशोधन गर्न सक्छन् । यादवका अनुसार यस प्रशोधन केन्द्र निर्माणका लागि आवश्यक उपकरणहरू जडानका क्रममा रहेका छन् । यसै आर्थिक वर्षभित्र उक्त केन्द्र सञ्चालनमा ल्याउने तयारी छ । यहाँका हरेक प्रशोधन केन्द्रको क्षमता प्रतिदिन तीन करोड ७४ मिलियन लिटर रहेको छ ।

त्यसैगरी सल्लाघारीमा निर्माणाधीन ढल प्रशोधन केन्द्रको दैनिक क्षमता एक करोड ४२ लाख लिटर, बालकुमारी ढल प्रशोधन केन्द्रको एक करोड ७५ लाख लिटर रहेको छ । भक्तपुरको हनुमानघाट र काठमाडौँको गोकर्णमा फोहोर पानी प्रशोधन केन्द्र निर्माणका लागि खरिद प्रक्रिया सुरु भइसकेको उपनिर्देशक यादवले जानकारी दिनुभयो । उहाँका अनुसार हनुमानघाट र गोकर्ण केन्द्रबाट दैनिक क्रमशः १० लाख र ३० लाख लिटर फोहोर पानी प्रशोधन गरिने छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा वर्षाको पानी व्यवस्थापन योजना सुरु भएको छ । गोरखापत्र अनलाईन

Facebook Comments