Thu. Apr 25th, 2024

नेपालका घोड चढी सालिकहरू

- सुनिल उलक

काठमाण्डौं, २०७८ चैत ५ गते शनिबार । घोड चढी सालिकको कुरा गर्दा यसको इतिहास ग्रीसबाट आएको देखिन्छ । विश्वको पहिलो घोड चढी सालिक रोमन सम्राट मार्कस ओरलसको भन्ने बुझिन्छ ।

यो सालिकमा घोडामा राखिने काठीको पनि आविष्कार भइसकेको थिएन । तसर्थ सम्राटको दुवै खुट्टा लट्कीएको देख्न सकिन्छ । नेपालको प्रसंगमा कुरा गर्नुपर्दा राणा प्रधानमन्त्री जङ्गबहादुरको सालिक वि.सं. १९४१ चैत १४ मा सुन्धाराबाट पूर्व रहेको चोकमा राखिएको थियो । यो सालिक अंग्रेज मुर्तिकार थोमस ब्रकले बनाएका थिए । यस मुर्तिलाइ काठमाडाैसम्म पुर्याउन झण्डै ६ महिना लागेको थियो । रणोद्वीप सिंह कुंवरले सो सालिक उद्घाटन गरे लगत्तै बागबजार चोकमा राखिएको आफ्नो सालिक पनि उद्घाटन गरेका थिए । रणोद्वीप सिंह कुंवरको घोडचढी सालिक पनि तिनै मुर्तिकार थोमस ब्रकले नै बनाएका थिए ।

पछि राजा महेन्द्रले जननिर्वाचीत सरकारलाई हटाइ पंचायती ब्यबस्था ल्याए पछि रानी एलिजाबेथको नेपाल भ्रमण पूर्व २०१७ सालको फागुनमा सडकको बिचमा निकै शोभा दिइएका यस्ता मुर्तीहरूलाई पुरानो स्थानबाट अन्यत्र सारेका थिए ।

विश्वभर घोडचढी सालीकलाई निकै महत्वपूर्ण मानिन्छ । यसको सुरक्षा तथा सम्भार निकै गर्ने गरिन्छ । तर हाम्रो देश नेपालमा यस किसिमको सालीकलाई सम्पदा होइन कि राणा शासनको चिनोको रूपमा हेला गरिन्छ । सर्वसाधारणको दृष्टी नपर्ने ठाउमा ओझेल पार्ने कोशिस गरिन्छ । राणा गए पनि राणाको भुत देखी अझै सत्ता डराएको जस्तो लाग्छ ।

बि.सं. १९५० फागुन १८ गते प्रधानमन्त्री वीरशम्शेरले आफ्ना बुबा धीरशम्शेर राणाको घोडचढी सालीक न्यूरोड ठूलो ढोकाको ठीक अगाडी स्थापना गराएका थिए । पछि यो सालीक पनि सो स्थानबाट अन्यत्र सारियो ।
जंगबहादुरको सालिक भद्रकाली मन्दिरबाट पश्चिम तथा धरहराको नजिकै रहेको चौबाटोमा राखिएको थियो । ऐतिहासिक खरीको बोटमा बसेर प्रधानमन्त्री रणोद्वीप सिंह कुँवरले बि.सं. १९४१ चैत्र १४ मा उद्घाटन गरेका थिए । तर बि.सं. २०१७ को फागुनको शुरूमा राजा महेन्द्रले कांग्रेसको प्रजातान्त्रिक सरकारलाइ अपदस्त गरेपछि रानी एलिजाबेथको स्वागतको तैयारीको क्रममा सालिकलाइ त्यस साविकको स्थानबाट हटाइ टुडिखेलको कुनामा राख्न लगाए भने ऐतिहासिक खरीको बोटलाइ काट्न लगाए ।
राणा प्रधानमन्त्री रणोद्वीप सिंहको सालिक वागबजार चोक विजुली अड्डाको नजिकै स्थापना गरिएको थियो । प्रधानमन्त्री रणोद्वीप सिंह कुँवर स्वयंले आफ्नो सालिक बि.सं. १९४२ असारमा उद्घाटन गरेका थिए । तर २०१७ को फागुनको शुरूमा राजा महेन्द्रले कांग्रेसको प्रजातान्त्रिक सरकारलाइ अपदस्त गरेपछि रानी एलिजाबेथको स्वागतको तैयारीको क्रममा सालिकलाइ त्यस साविकको स्थानबाट हटाइ टुडिखेलको कुनामा राख्न लगाए ।
बि.सं. २००५ जेठ ३१ गते जावलाखेल चोकमा प्रधानमन्त्री मोहनशम्शेरले जुद्धशम्शेर राणाको घोडचढी सालिक अनावरण गरेका थिए । यो सालिकलाइ पनि २०१७ सालमा स्थानान्तरण गराइएको थियो ।
प्रधानमन्त्री चन्द्रशम्शेर राणाले अन्य सालिक झै आफ्नो सालिक पनि आफ्नै जीवनकालमा बनाउन लगाएका थिए । तर दुर्भाग्य उनको सालिक ल्याएको पानीजहाज समुन्द्रमा डुबेर सालिक नष्ट भयो । पछि सोही कम्पनीले अर्को सालिक बनाएर पठाउदा सम्म चन्द्रशम्शेरको मृत्यु भए पनि उनका भाइ भिमशम्शेरले उनका घोडचढी सालिक बि.सं. १९८६ का अन्त तिर हालको न्युरोड अगाडीको चोकमा स्थापना गराएका थिए ।
राजा पृथ्वी वीर बिक्रम शाहको घोडचढी सालिक बि.सं. १९८६ फागुन २ गते राजा त्रिभुवनले अनावरण गरेका थिए । यो सालिक भने शुरू देखी नै सोही स्थानमा रहेको भन्ने देखिन्छ ।
Facebook Comments