Fri. May 10th, 2024

अस्ट्रेलियाविरुद्ध बाबरको विश्व कीर्तिमान

काठमाण्डौं, २०७८ चैत ३ गते बिहीबार । पाकिस्तानका कप्तान बाबर आजमले अस्ट्रेलियाविरुद्धको दोस्रो टेस्टमा विश्व कीर्तिमान बनाउनु भएको छ । कराँचीको नेशनल स्टेडियममा खेलिएको खेलको चौथो इनिङ्समा कप्तानका रुपमा बाबर सर्वाधिक रन बनाउने खेलाडी बन्नु भएको छ ।

उहाँले ४ सय २५ बलमा २१ चौका र १ छक्का प्रहार गर्दै १९६ रनको अविस्मरणीय पारी खेल्नु भयो । उनीअघि इङ्ल्यान्डका माइकल एथर्टनले सन् १९९५ मा कप्तानको रुपमामा चौथो इनिङ्समा अविजित १ सय ८५ रन बनाउनु भएको थियो । चौथो इनिङ्समा सर्वाधिक ६ सय ०७ मिनेट मैदानमा ब्याटिङ गर्ने एसियाली खेलाडीको कीर्तिमान पनि बाबरले बनाउनु भएको छ ।

दिनको सुरुवातमा बाबरले अब्दुल्लाह शफिकसँग खेल्न थालेपछि उहाँले कंगारुहरूलाई विकेटका लागि तर्साइ दिनु भयो । हरेक बललाई आफ्नो योग्यता अनुसार खेल्दै बाबरले आफूलाई विश्वकै उत्कृष्ट ब्याट्सम्यान मध्ये एक भन्ने प्रमाणित गर्नु भयो । प्याट कमिन्स र मिचेल स्टार्कको पेस र रिभर्स स्विङको अगाडि बाबर कत्तीपनि हतोस्साहित हुनु भएन ।

पाकिस्तानी ब्याट्सम्यान ब्याकफुटमा गएको जस्तो देखिने अवस्थामा बाबरले नाथन लियोनलाई छक्का प्रहार गरेर आफ्नो क्षमता देखाउनु भयो । बाबरअघि पाकिस्तानका लागि चौथो इनिङ्समा सबैभन्दा ठूलो इनिङ्सको कीर्तिमान युनिस खानको नाममा थियो । उनले श्रीलंकाविरुद्ध १ सय ७१ रनको इनिङ खेल्नु भएको थियो ।

मात्र २७ वर्षको उमेरमा विश्व क्रिकेटमा बाबरको दबदबाले आगामी दिनमा क्रिकेट जगतका कैयौं कीर्तिमानहरू उहाँको निशानामा हुनेछन् ।

Facebook Comments