Wed. Dec 25th, 2024

कृष्ण हमाल मृत्युको छानबिन गर्न प्रशासनद्वारा समिति गठन

- युवकको मृत्युपछि सुर्खेतमा आफन्तको प्रदर्शन

काठमाण्डौं, २०७८ फागुन २१ गते शनिबार । सुर्खेतमा प्रहरीको कुटपिटबाट कालीकोटका कृष्ण हमालको मृत्यु भएको भन्दै आफन्त आन्दोलित भएका छन्।

शुक्रबार साँझ नेपालगञ्जबाट सुर्खेत आउँदै गर्दा वीरेन्द्रनगरमा रहेको सुब्बाकुना प्रहरी चेकपोष्टमा मादक पदार्थ सेवन गरेको भन्दै प्रहरीले कुटपिट गरेको थियो। प्रहरीको कुटपिटका कारण हमालको मृत्यु भएको आफन्तले आरोप लगाएका छन्। प्रहरीको कुटपिटका कारण मृत्यु भएको भन्दै आफन्तले शनिबार दिउँसो वीरेन्द्रनगर बजारमा आन्दोलन गरेका हुन्।

आक्रोशित भीडले आन्दोलन चर्काएपछि सुर्खेत अस्पतालले विज्ञप्तिमार्फत अस्पताल ल्याउनु पूर्व नै युवकको मृत्यु भएको जनाएको छ। अस्पताल प्रशासनले जारी गरेको विज्ञप्तिमा शनिबार बिहान १०ः१५ मा दुई जना व्यक्तिले बेहोस् भएको भनेर ल्याएको र चेकजाँच गर्दा मृत्यु भइसकेको उल्लेख गरेको छ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतले तिलागुफा नगरपालिका-३ कालीकोट निवासी ३४ वर्षीय कृष्ण हमालको मृत्युको सत्य, तथ्य छानबिनका लागि समिति गठन गरेको छ ।

आज बिहान १०ः१५ बजे मृत्यु भएका हमाल शुक्रबार राति २३ः५० बजे नेपालगञ्जदेखि जुम्ला जाँदै गरेको भे १ क ९२२ नं.को गाडीमा सवार हुनुहुन्थ्यो । यात्री हमाललाई सुब्बाकुना प्रहरीले निर्घात कुटपिट गरी गम्भीर घाइते बनाएको र जसका कारण हमालको मृत्यु भएको आरोप लगाउँदै मृतकका आफन्तले वीरेन्द्रनगरमा आन्दोलन थालेलगत्तै सुर्खेत प्रशासनले सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरी पाण्डेको संयोजकतत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको छ ।

उक्त समितिले तीन दिनभित्र घटनाको सत्य, तथ्य प्रतिवेदन पेश गर्ने प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो । “गठित समितिले घटना कसरी घट्यो र के भएको हो रु भन्ने विषयमा निष्पक्षरूपमा छानबिन गरी प्रतिवेदन पेश गर्नेछ”, उहाँले भन्नुभयो, “यही विषयलाई लिएर शान्ति सुरक्षामा खलल पुग्ने खालका विभिन्न विरोधका कार्यक्रम नगरी छानबिन प्रक्रियामा सहयोग पु¥याउन सबैमा अपिल गरिएको छ ।”

मृतकका आफन्त कलमबहादुर हमालले प्रहरीको कुटाइबाट तल्लो पेट र अण्डकोषमा चोट लागेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “गाडीको स्टाफलाई समेत दुईजना प्रहरीले कुटपिट गरेका थिए । उनीहरूलाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको छ ।” आज बिहान सुर्खेत अस्पताल नपुग्दै हमालको मृत्यु भएको जनाइएको छ ।

जिल्ला प्रशासन कार्यालका अनुसार छानबिन समितिले तीन दिनभित्र प्रतिवेदन प्रमुख जिल्ला अधिकारीसमक्ष पेश गर्ने, प्रतिवेदनबमोजिम व्यक्ति दोषी देखिए कानुनी कारवाही गर्ने, यस कार्यलाई सहज बनाउन विरोधका कार्यक्रम रोक्ने र शव परीक्षणका लागि शव कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पठाउने सहमति भएको छ । गोरखापत्र अनलाईन

Facebook Comments