Mon. May 13th, 2024

पेले अस्पतालबाट डिस्चार्ज

काठमाण्डौं, २०७८ फागुन १७ गते मंगलबार । पिसाब नलीको संक्रमण निको भएपछि ब्राजिलका महान फुटबलर पेलेलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ । पेलेलाई सामबार अस्पतालबाट डिस्चार्ज गरिएको उहाँको उपचारमा संलग्न चिकित्सकहरुले बताउनु भएको छ ।

८१ वर्षीय महान फुटबलरलाई क्यान्सरको उपचारका लागि फेब्रुअरी १३ मा साओ पाउलोको अल्बर्ट आइन्स्टाइन अस्पतालमा भर्ना गरिएको थियो ।त्यपछि गरिएको परिक्षणबाट उहाँको पिसाब नलीमा संक्रमण भएको पत्ता लागेको थियो ।

“ उहाँ स्थिर क्लिनिकल अवस्थामा हुनु हुन्छ । संक्रमण निको भईसकेको छ भने सेप्टेम्बर २०२१ मा पहिचान गरिएको कोलोन ट्युमर को लागी उपचार जारी रहने छ,“ अस्पतालले विज्ञप्तिमा भनेको छ ।

तीन पटकका विश्वकप विजेताले हालैका हप्ताहरूमा आफ्नो स्वास्थ्यको बारेमा प्रशंसकहरूलाई अपडेट गराउन र विश्व घटनाहरूमा टिप्पणी गर्न सोशल मिडियामा नियमित रूपमा पोस्ट गर्दै आउनु भएको छ ।

सबै समयका उत्कृष्ट खेलाडीहरूमध्ये एक, पेलेले २१ वर्षको व्यावसायिक करियरमा १ हजार ३ सय ६३ खेलमा १ हजार २ सय ८१ गोलको विश्व कीर्तिमान बनाउनु भएको छ । ब्राजिलका लागि ९१ क्याप जित्नु भएका पेलेले ७७ अन्तर्राष्ट्रिय गोल गर्नु भएको छ ।

Facebook Comments