Mon. May 20th, 2024

नेपाली कांग्रेस र एमालेको बालकोट छलफल निष्कर्ष विहिन

काठमाण्डौं, २०७८ फागुन १५ गते आईतबार । नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) बीचको छलफल विना निष्कर्ष टुंगिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा शनिबार भएको निष्कर्ष विहिन भएको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार प्रतिनिधिसभाको अवरोध र अमेरिकी विकास परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को विषयमा छलफल गर्दै बैठक सकिएको हो। लामो समय छलफल भए पनि निष्कर्षमा पुग्न नसकिएको उहाँको भनाइ छ।

‘हामीले प्रतिनिधिसभा सुचारु गरौँ। एमसीसीलाई राष्ट्रिय सहमतिका साथ अनुमोदन गरौँ भनेका छौँ’, भेटपछि कार्कीले भन्नुभयो, ‘तर, उहाँहरुले प्रतिनिधिसभाको ढोका खुलेको छैन। हामीले प्रतिनिधिसभा खुलाउने बाटो खोल्नुहोस् भन्नुभएको छ। हामीले फेरि पनि संसदलाई जीवन्त बनाउने तपाईंहरुको दायित्व हो भनेर भनेका छौँ।’

गोरखापत्र अनलाईनका अनुसार बैठकपछि पत्रकारसँग कुरा गर्दै एमाले महासचिव शंकर पोखरेलले पुनः छलफल गर्नेगरी आजको छलफल टुंगिएको जानकारी दिनुभयो। दुवै पक्षले आआफ्ना कुरा राखेको र छलफल निष्कर्षमा नपुगेको उहाँको भनाइ छ। छलफललाई भने निरन्तरता दिने उहाँले बताउनुभयो।

राष्ट्रिय हितका विषयमा छलफल भएको छ। हामीले आफ्ना कुरा गरेका छौँ। उहाँहरुले आफ्ना कुरा गर्नुभयो’, महासचिव पोखरेलले भन्नुभयो, ‘निष्कर्षमा पुगेका छैनौँ। छलफल निरन्तर रहन्छ।’

छलफलमा काँग्रेसका तर्फबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र सञ्चारमन्त्री कार्की सहभागी हुनुहुन्थ्यो।

उता प्रतिपक्षी दल एमालेको तर्फबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव पोखरेल, उपमहासचिव विष्णु रिमाल छलफलमा सहभागी हुनुहुन्थ्यो।

Facebook Comments