Mon. May 20th, 2024

आज बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक

काठमाण्डौं, २०७८ फागुन १५ गते आईतबार । आज बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ। संघीय संसद्का महासचिव डा। भरतराज गौतमले आजको बैठकको सम्भावित कार्यसूची सार्वजनिक गर्नुभएको हो।

आज दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ। देउवाले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७ र ७८ पेश गर्नुहुने कार्यसूचीमा उल्लेख छ।

सम्भावित कार्यसूचीको दोस्रो नम्बरमा अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अनुदान सहायता सम्झौतामाथि छलफल हुने उल्लेख छ। उक्त प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नुहुनेछ।

यसअघि प्रधानमन्त्री देउवाको आग्रहमा बिहीबारका लागि तोकिएको बैठक शुक्रबार दिउँसो १ बजेका लागि सारिएको थियो। शुक्रबारको बैठकअघि एमसीसीको विषयमा सहमति नभएपछि बैठक आज आइतबारका लागि सारिएको हो।

सभामुख अग्निप्रसाद सापकोटाले बैठकअघि कार्यव्यवस्था परामर्श समिति बैठक आह्वान गर्नुभएको छ। सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार कार्यव्यवस्था परामर्श समितिको बैठक आज बिहान साढे ११ बजे नयाँबानेश्वरस्थित शंकर हलमा बस्नेछ। बैठकले प्रतिनिधिसभा बैठकको कार्यसूची तय गर्नेछ ।

Facebook Comments