Mon. May 20th, 2024

सेनाको कुटाइबाट चेपाङ युवकको मृत्यु प्रकरण, अभियुक्तलाई जन्मकैदको फैसला

काठमाण्डौं, २०७८ फागुन ९ गते सोमबार । उच्च अदालत पाटनको हेटौंडा इजलासले चितवन राष्ट्रिय निकुञ्जको जंगलमा घुँगी टिप्न गएका राजकुमार चेपाङलाई कुटपिट गर्ने एक सैनिकलाई जन्मकैदको फैसला गरेको छ ।

न्यायाधीशहरु चण्डीराज ढकाल र नागेन्द्रलाल कर्णको इजलासले सैनिक चिरणकुमार बुढालाई जन्मकैदको सजाय गर्नुभएको हो । उच्च अदालतले जिल्ला अदालतको फैसलालाई उल्ट्ई सजायको फैसला गरेको हो ।

जिल्ला अदालत चितवनका न्यायाधीश गायत्री प्रसाद रेग्मीले नेपाली सेनाका चिरण कुमार बुढालाई ९ महिना कैद र ९ हजार जरिवाना हुने फैसला गर्नुभएको थियो । त्यही फैसला विरुद्ध परेको पुनरावेदनमा उच्च अदालतले आइतबार बुढामाथि जन्मकैदको फैसला सुनाएको थियो । जन्मकैदको सजाय २५ वर्षको हुन्छ ।

२४ वर्षीय राजकुमार चेपाङ सहितको समुह घुगी खोज्ने क्रममा चितवन राष्ट्रिय निकुञ्जको लिगलिगो पोष्ट नजिकैको ज्यूडी खोलामा गएका थियो । त्यसैक्रममा सैनिक टोलीले उनीहरुलाई नियन्त्रणमा लिएर ब्यारेकमा लगेर कुटपिट गरेका थिए ।

कुटपिटपछि गम्भिर घाइते भएका राजकुमारको ८ दिनपछि उपचारका क्रममा मृत्यु भएको थियो । उनका बाबु विष्णुलाल चेपाङले ६ सैनिकले आफ्नो छोरालाई कुटपिट गरेको भनी जाहेरी दिनुभएको थियो ।

त्यही मुद्दामा जिल्ला अदालतले भवितव्य भएको भन्दै चिरण कुमार बुढालाई ९ महिना कैद सजाय र ९ हजार जरिवाना गरेको थियो । साथै मृतकका बाबुलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराइदिनुपर्ने भनी फैसला गरेको थियो ।

Facebook Comments