Wed. May 1st, 2024

नयाँ शैक्षिक सत्रको पढाइ जेठ १ गतेदेखि

काठमाण्डौं, २०७८ फागुन ४ गते बुधबार । सरकारले आउँदो शैक्षिक सत्रको पढाइ जेठ १ गतेदेखि सुरु गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आज बुधवार बसेको मन्त्रिस्तरीय बैठकले परीक्षालगायतका काम वैशाख महिनाभित्र सकेर जेठ १ गतेदेखि नयाँ शैक्षिक सत्रको पढाइ सुरु गर्ने निर्णय गरेको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिनुभयो ।

कोरोना महामारीका कारण विद्यालय बन्द गर्दा पढाइ प्रभावित भएकाेले चैत महिनाभर पठनपाठन गर्ने र वैशाख महिनामा वार्षिक परीक्षा सकेर जेठदेखि पढाइ सुरु गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।

परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) आउँदाे वैशाख ९ देखि २० गतेका लागि तोकिसकेको छ । पालिकाले सञ्चालन गर्ने कक्षा आठलगायत कक्षा १० भन्दा तलका सबै परीक्षा वैशाखमा गरेर वैशाखभित्रै नतिजा प्रकाशन समेत गर्ने, विद्यालयले बनाउने वार्षिक कार्ययोजना वैशाखभित्रै बनाउने र भर्ना तथा पाठ्यपुस्तकसमेत वैशाखभित्रै वितरण गरिसक्ने पनि प्रवक्ता शर्माले बताउनुभयो ।

स्थानीय तह चुनावका कारण विद्यालयहरू बन्द गर्नेपर्ने तथा कतिपय शिक्षकहरू चुनावमा खटिनुपर्ने भएकाले चुनावमा खटिने समयअघि नै नयाँ शैक्षिक सत्रअघि सम्पन्न गर्नुपर्ने सबै तयारी पूरा गर्ने पनि शिक्षा मन्त्रालयले जनाएको उज्यालो अनलाईनले समाचार लेखेको छ ।

Facebook Comments