Thu. May 2nd, 2024

नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधी र पाकिस्तानी राजदूतबीच भेट, दुई देशबीच सिधा हवाई सेवा सञ्चालन गर्न आग्रह

काठमाण्डौं, २०७८ फागुन ५ गते बिहीबार । नेपाल चेम्बर अफ कमर्सले नेपाल-पाकिस्तान सिधा हवाई सेवा सञ्चालनका लागि आग्रह गरेको छ ।

दुई मुलुकबीचको व्यापार सहजिकरणका लागि काठमाण्डौं कराँचीबीच सिधा हवाई सम्पर्क आवश्यक भन्दै चेम्बरले नेपालका लागि पाकिस्तानका राजदुत शेद हैदर शाहसँग आग्रह गरेको हो । अध्यक्ष राजेन्द्र मल्लले दुई मुलुकबीचको व्यापार वृद्धि, पर्यटन आदान प्रदान एवं अन्य आर्थिक गतिविधि विस्तारका लागि तत्काल हवाई सेवा सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिनुभयो ।

हवाई सेवा सञ्चालन गर्न दुई मुलुकबीच सरकारी तबरबाटै पहल गर्न र निजी क्षेत्रमा पनि सहकार्य गराउन अध्यक्ष मल्लले राजदुत शाहसँग आग्रह गर्नुभयो । “नेपाल र पाकिस्तानबीच हवाई दुरी जम्मा तीन घण्टाको छ । यसलाई सदुपयोग गर्न सकियो भने दुई मुलुकबीचको व्यापार वृद्धि गर्न सकिन्छ” अध्यक्ष मल्लले भन्नुभयो, “पर्यटन विस्तार गर्न सकिन्छ, सार्क सदस्य राष्ट्रको हैसियतले अन्य थुप्रै आर्थिक गतिविधि बढाएर दुवै मुलुकले लाभ प्राप्त गर्न सक्छन् ।”

नेपाल चेम्बर र पाकिस्तान चेम्बर अफ कमर्सबीच थुप्रै क्षेत्रमा व्यापारिक सहकार्यको सम्भावना रहेकाले उच्चस्तरीय भेटवार्ताका लागि आफूहरु तयार रहेको अध्यक्ष मल्लले बताउनु भयो । निजी क्षेत्रबीचको सहकार्यमार्फत, हवाई सेवा सञ्चालन, साना तथा मझौला उद्योगमा लगानी बढाएर दुवै देशले लाभ लिन सक्नेसम्भावना रहेको अध्यक्ष मल्लले बताउनु भयो ।

पाकिस्ताबाट नेपालले अहिले छोकडा, प्रशोधित छालाजन्य पदार्थ, मेसिनरी वस्तु, जुत्ता, चप्पललगायतका वस्तु आयत गर्दै आएको छ भने मह, कफि, चिया, हस्तकलाका सामान, अलैंची, आँखाको लेन्स, उनी धागोलगायतका वस्तु निर्यात गर्ने गरेको छ ।

नेपालले पाकिस्तानबाट वार्षिक १ अर्ब १४ करोड १९ लाख रुपैयाँ बराबरको वस्तु आयत गर्ने गरेको छ भने निर्यात १० करोड ४ लाख रुपैयाँ बराबर गर्ने गरेको छ ।

काठमाण्डौं कराँचीबीच सिधा हवाई सेवा सञ्चालन गर्नसके व्यापार सहजीकरण हुने र व्यापार घाटा पनि कम गर्न सकिने चम्बरले जनाएको छ । यस्तै पर्यटन गतिविधि बढाउन पनि सहज हुने अध्यक्ष मल्लको विश्वास छ ।

छलफल मा चेम्बरका पदाधिकारीले सार्क सदस्य राष्ट्र भएर पनि नेपाल पाकिस्तानबीच व्यापार गतिविधि बढ्न नसकेको बताएका थिए । हवाई सेवा नियमित गर्न सकिए दुवै देशले महत्वपूर्ण आर्थिक लाभ लिन सक्नेमा उनीहरुले जोड दिए ।

नेपालका लागि पाकिस्तानी राजदूत शाहाले हवाई सेवा सञ्चालनका लागि सरकारी तवरबाटै पहल हुनुपर्ने बताउनु भयो । नेपाल र पाकिस्तानबीच दुवै मुलुकलाई फाइदा हुनेगरि आर्थिक सम्भावनाका क्षेत्रहरुको पहिचान गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । यसका लागि प्राथमिकताका क्षेत्रहरु पहिचान हुनुपर्ने शाहाको भनाइ छ । दुई देशबीचका चेम्बर अफ कमर्सका पदाधिकारीबीच छलफल गराएर व्यापारिक गतिविधि विस्तारका लागि आफूले पहल गर्ने राजदूत शाहले प्रतिवद्धता जनाउनु भयो । कारोबार दैनिक

Facebook Comments