Wed. May 1st, 2024

आज वसन्त पञ्चमी, लाग्यो वसन्त ऋतु

- सरस्वती माताको पूजाराधना गरी मनाईँदै

काठमाण्डौं, २०७८ माघ २३ गते आईतबार । प्रत्येक वर्ष माघ शुक्लपञ्चमीका दिन मनाइने श्रीपञ्चमी (श्रीपञ्चमी) विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको पूजाराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास छ ।

देशभरका सरस्वती मन्दिरमा पूजाआराधना गर्न श्रद्धालुको भीड लाग्छ । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ । आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने जनविश्वास छ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसबाहिनी, जगन्माता, बागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिधात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् ।

विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आआफ्ना कला-साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजाराधना गर्छन् भने तान्त्रिकहरू तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा आराधना गर्छन् ।

सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजका दिनलाई ‘वसन्तपञ्चमी’ पनि भन्ने गरिन्छ । यसै यामदेखि वन ढकमक्क हुन्छ । प्राकृतिक रुपमै रमाइलो वातावरणको अनुभव हुन्छ । ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजोपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने भएकाले सरस्वती पूजाको ठूलो महत्व छ । ‘गान्धर्व पुराण’मा आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने उल्लेख छ ।

आजैका दिनदेखि बोट विरुवामा पालुवा लाग्न थाल्ने, नानारंगका फूलहरु फूल्न सुरुहुने र मिठामिठा फलहरु बोट विरुवामा लाग्ने भएकोले वसन्त ऋतु प्रारम्भ भएको मानिन्छ ।

आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह (इही) जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने विश्वास छ । यस दिन बालबालिकालाई शिक्षारम्भका साथै नाक-कान छेडिदिने गरिन्छ । काठमाण्डौं उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लाग्छ । सरस्वतीलाई चढाइएको सात गेडा अक्षता दाँतले नछोइ निलेमा विद्या र बुद्धि स्फुरण भई विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास छ ।

वसन्त ऋतुको आगमनको सङ्केत गर्दै हनुमानढोका दरबारस्थित नासलचोकमा बिहान १०ः२३ बजेको साइतमा राष्ट्रपतिबाट वसन्त श्रवण गर्ने कार्यक्रम तय भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्तपञ्चमी तथा श्रीपञ्चमीको गरिमालाई आत्मसात् गर्न अनुरोध गर्नुभएको छ । वसन्तपञ्चमीका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले यस्तो बताउनुभएको हो । यस दिनलाई विद्या, बुद्धि, कला र सङ्गीतको उन्नयनसँग गाँसिएको मौलिक पर्वका रूपमा मनाइन्छ । सरस्वती प्रकट भएको दिन अर्थात् सरस्वती जयन्ती मानेर आजकै दिन सरस्वतीलाई विद्याकी देवीका रूपमा पूजा–आराधना गर्ने प्रचलन वैदिककालदेखि चलिआएको छ । ज्ञानका स्रोत मानिने पुस्तकसहित सङ्गीतका वाद्ययन्त्र तथा रङ्ग–कलाका साधनलाई समेत सरस्वतीकै स्वरूप मानेर पूजा गर्ने परम्परा छ ।

राष्ट्रपतिले भन्नुभएको छ, “सरस्वती पूजा र वसन्तपञ्चमीको यस अवसरमा ज्ञान र शिक्षाको उन्नयनबाट नेपाली राष्ट्रिय जागरणको शक्तिशाली उद्बोधन हुन सकोस् भनी हार्दिक शुभकामना व्यक्त गर्दछु । ”
स्रस्टाहरू वसन्त ऋतुलाई सिर्जनाको प्रतीक मान्छन् । किसानका निम्ति वसन्तपञ्चमी नयाँ बाली लगाउन प्रकृतिले दिएको अवसरका रूपमा लिइन्छ । “पर्यावरणको दिगो संरक्षण गर्दै मानव विकासको अवधारणालाई मूर्त रूप दिन आजका दिनले प्रेरणा प्रदान गर्छ भन्ने मलाई लागेको छ,” राष्ट्रपतिले भन्नुभएको छ ।

Facebook Comments