बुढासुब्बा गोल्डकपको २५औँ संस्करण माघमा
धरान (सुनसरी), २०८१ पुस ८ गते सोमबार । अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २५औँ संस्करण आगामी माघमा हुनेभएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आगामी माघ १९ गतेदेखि २६ गतेसम्म प्रतियागिता आयोजना हुने धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङ्ले जानकारी दिनुभयो ।
धरान उपमहानगरपालिका–१६ रङ्गशालामा हुने प्रतियोगितामा १० वटा क्लबको सहभागी रहनेछ । प्रतियोगितामा एनआरटी क्लब काठमाण्डू, लिग च्याम्पियन चर्च ब्वाइज क्लब, नेपाल पुलिस क्लब, भुटान फुटबल एकाडेमी, त्रिभुवन आर्मी क्लब, इटहरी जागृती क्लब, युके एफसि भारत, मच्छि«न्द्र क्लब काठमाण्डू, काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापा, र धरान फुटबल क्लब रहने जनाइएको छ ।
प्रतियोगिताको विजेताले ट्रफीसहित रु १० लाख र उपविजेताले नगद रु पाँच लाख पुरस्कार पाउने छन् । उत्कृष्ट खेलाडीले नगद रु एक लाख र प्रत्येक खेलको प्लेयर अप दि म्याच हुनेले रु १५ हजार सर्वाधिक गोलकर्ताले रु ३५ हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफन्स, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षकले जनही रु २५ हजार पुरस्कार पाउने अध्यक्षले बताउनुभयो ।
राससका अनुसार प्रतियोगिता रु ८० लाख १० हजार खर्च हुने अनुमान गरिएको छ भने रु एक करोड दुई लाख २५ हजार आम्दानी हुने लक्ष्य राखिएको क्लबका महासचिव नवीन राईले बताउनुभयो । प्रतियोगितामा उपविजेताले पाउने रु पाँच लाख धरान उपमहानगरपालिका–१५ निवासी हाल पोर्चुगलमा रहनुभएको अरुण राईले प्रदान गर्ने अध्यक्ष तामाङले बताउनुभयो ।
प्रतियोगिताको गत वर्षको संस्करणमा एनआरटी क्लब काठमाण्डू विजेता र जिल्ला फुटबल सङ्घ मोरङ उपविजेता भएका थिए ।