Tue. May 21st, 2024

प्रसिद्ध भारतीय गायिका लता मङ्गेशकरको निधन

काठमाण्डौं, २०७८ माघ २३ गते आईतबार । प्रसिद्ध भारतीय गायिका लता मङ्गेशकरको ९२ वर्षको उमेरमा निधन भएको छ। जनवरी ८ तारिखमा कोभिड-१९ बाट सङ्क्रमित भएपछि उहाँलाई  अस्पताल भर्ना गरिएको थियो। स्वास्थ्य अवस्थामा सुधार नभएपछि उहाँ हप्तौँदेखि सघन उपचार कक्षमा हुनुहुन्थ्यो ।

बीबीसी का अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै मङ्गेशकरको निधनले “देशमा कहिल्यै पूर्ण नहुने रिक्तता छोडेको” बताउनु भएको छ । मोदीले मङ्गेशकरका “गीतहरूले विभिन्न खाले भावनाहरू प्रवाह गर्ने” बताउँदै उहाँले “दशकौँसम्म भारतीय चलचित्र जगतलाई नजिकबाट नियालेको” बताउनु भएको छ ।

लता मङ्गेशकरले आधा शताब्दी लामो असाधारण साङ्गीतिक यात्राका क्रममा ३६ वटा भाषामा ३० हजार भन्दा बढी गीत गाउनु भएको थियो । उहाँलाई राष्ट्रिय प्रतिभाका रूपमा स्थापित गर्ने कार्य भने भारतको हिन्दी चलचित्र उद्योगमा गरेको कामले गर्‍यो।

उहाँको जन्म सन् १९२९ को सेप्टेम्बर २८ तारिखमा भारतको मध्य प्रदेश राज्यस्थित इन्दोर सहरमा भएको थियो। पाँच वर्षको उमेरमा पिता दिनानाथ मङ्गेशकरबाट उहाँले सङ्गीत सिक्न थाल्नु भएको थियो । दिनानाथ त्यस बेला थिएटर कलाकार हुनुहुन्थ्यो ।

लता मंगेसकरले १३ वर्षको उमेरदेखि गीत गाउन थाल्नु भएको थियो । उहाँले बाचुन्जेलीलाई, आकाशमा तिरमिर तारा, जुन बाटोमा लगायत धेरै नेपाली गीतमा पनि स्वर दिनु भएको छ ।

लता मङ्गेशकर फिल्म फेयर पुरस्कारदेखि पद्म भुषण, पद्म विभुषण, राजीव गान्धी पुरस्कार, भारतको सर्वोच्च नागरिक सम्मान भारत रत्न लगायत पुरस्कारबाट सम्मानित हुनु भएको छ ।

लता मङ्गेशकरको निधनमा भारत सरकारले दुई दिन राष्ट्रीय शोक मनाउने घोषणा गरेको छ । उहाँको पार्थिव सरिरलाई मध्यान्ह १२ वजे लताकुञ्जस्थित घर लैजाने बताईएको छ । लताको अन्तिम संस्कार शिवाजी पार्कस्थित श्मशान मा गरिने भएको छ ।

 

Facebook Comments