Tue. Dec 24th, 2024

सोनाम ल्होसार पर्वको उपलक्ष्यमा राष्ट्रपति र प्रधानमन्त्रीद्वारा शुभकामना

काठमाण्डौं, २०७८ माघ १९ गते बुधबार । तामाङ समुदायको महान् पर्व सोनाम ल्होसारका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना व्यक्त गर्नुभएको छ ।

सन्देशमा राष्ट्रपति भण्डारीले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होसारजस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्‍भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने बताउनुभएको छ । उहाँले यसबाट बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ तुल्याउन मद्दत पुग्नेछ भन्ने विश्वास पनि लिनुुभएको छ ।

प्रधानमन्त्री देउवाले सम्पूर्ण तामाङ समुदायमा सुख, शान्ति, सुस्वास्थ्य र दीर्घायुको कामना गर्नुभएको छ । उहाँले सामाजिक, सांस्कृतिक, जातीय र धार्मिक विविधताले सम्पन्न मुलुक नेपालका विभिन्न भाषा, धर्म, वर्ण, सम्प्रदाय, जातजातिका आ–आफ्ना विशिष्ट संस्कृति र परम्परा रहेको उल्लेख गर्नुभएको छ । प्रधानमन्त्रीले कोरोना सङ्क्रमणको जोखिम कायमै रहेकाले जनस्वास्थ्य मापदण्डको पालना गर्दै यो पर्व हर्षोल्लासपूर्वक मनाउन आग्रह गर्नुभएको छ ।

Facebook Comments