Fri. May 17th, 2024

आज सोनाम ल्होछार पर्व भव्य रुपमा मनाईदै, देशभर सार्वजनिक बिदा

काठमाण्डौं, २०७८ माघ १९ गते बुधबार । तामाङ समुदायले आज विभिन्न कार्यक्रमहरुको आयोजना गरी सोनाम ल्होछार पर्व भव्य रुपमा मनाउँदै छन् । सोनाम ल्होछारलाई तामाङ समुदायमा नयाँ वर्षका रुपमा मनाउने गरिन्छ । यो पर्व प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने चलन छ ।

मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५८ औँ वर्ष सुरु हुन्छ । आजदेखि गाई वर्ष पूरा गरी बाघ वर्ष प्रवेश हुन्छ । हरेक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, मेघ, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होछारलाई विभाजन गरिएको छ ।

ल्होछारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धानदाता टीका शेर्पाले जानकारी दिनुभयो । तामाङ जातिको बाहुल्यता रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेषरुपमा मनाइन्छ । यस वर्ष बुधबार मनाइने पर्वका अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ ।

Facebook Comments